सत्यमोहन जोशी
पत्तो न फाँटसँग एक्कासी रेडियो नेपालले नाम फुकेपछि अचम्म लागेको थियो। लगत्तै गोरखापत्रको समाचारमा पनि ‘सत्यमोहन जोशी’ नै लेखिएको देखेपछि सकसक लाग्न थालिहाल्यो। २०१६ साल। मुलुककै पहिलो जननिर्वाचित सरकार भर्खर स्थापना भएको थियो। दुइतिहाइ बहुमत ल्याएको जनताकै सरकार भएपछि उसले काम पनि नयाँनयाँ ढंगको गर्न थाल्यो।
‘यिनीहरुले आफ्नै किसिमबाट राज्यको व्यवस्था मिलाउन थालेछन्’ भनिरहेका थियौं। त्यस्तो बेलामा एक्कासी पहिले कसैले नाम पनि नसुनेको पुरातत्व तथा संस्कृति विभागको घोषणा गरिएको थियो। पुरातत्व नामले त एउटा अड्डा पहिले पनि थियो क्यारे! त्यहाँ को थिए र के गरिरहेका थिए भन्ने पत्तो कसैलाई थिएन। अर्को ‘संस्कृति’भन्ने त शब्दै पनि त्यतिन्जेल प्रचलनमा आएकै थिएन। यस्तो अवस्थामा भर्खरै खडा गरिएको पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टरमा सत्यमोहन जोशी भनेर नाम आएपछि मलाइ हुनुसम्मको छटपटी चल्यो।
‘को रहेछ यो सत्यमोहन जोशी?’
नाम मसँगै मिल्दोजुल्दो भए पनि न मैले कतै निवेदन दिएको थिएँ न त यस विषयमा मसँग कसैले कुनै कुरै गरेका थिए। आफू जाबो खरदार मानिस। नन् गजेटेड डिठ्ठा भनौं न! संचयकोष काटेर महिनाको ४२ रुपैयाँ थाप्ने मानिसले एकैचोटि डाइरेक्टर हुने त कल्पना गर्नु पनि मुर्खता जस्तै हुन्थ्यो।
यस्तो अवस्थमा दाबी गर्न जाने कुरा पनि आएन। बिनासित्तिमा बेवकुफ बनिएला भन्ने डर। त्यसैले चुपचाप बसेँ। अलिक दिनसम्म पनि त्यो मानिसबारे थप जानकारी नआएपछि धेरैले ‘तिमी नै होला’भन्न थाले। फेरि अर्काथरि मानिसहरु चाहिँ‘नजाउ है कोहि अर्कै रहेछ भने लाजले मर्नु भएर फर्किनु पर्ला’ पनिभन्थे। उता सायद सरकार पनि सत्यमोहन जोशीलाई पर्खेर बसिरहेको थियो। यता म पनि त्यो सत्यमोहन जोशीलाई नै कुरेर बसिरहेको थिएँ।