एमाले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित सो समूहका १५ जना केन्द्रीय नेताहरुले आफूहरुलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको गुनासो गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवशमा एक अपील जारी गर्दै उनीहरुले भनेका छन्, ‘हामीलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन्। २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ तर हामी पार्टी एकता जोगाउन चाहन्छौं। त्यसैले हामीले ‘नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौं।’
अपीलमा भनिएको छ, ‘त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सवै रद्ध गरिनुपर्छ र २०७५ जेष्ठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ। यदि त्यसो भयो भने नेकपा ( एमाले) को एकता जोगिन्छ।’
तीन पृष्ठलामो उक्त अपीलमा पूर्व प्रधानमन्त्रीद्वय खनाल र नेपाल, सो पक्षका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहेका छन्।