विवेक बन्धकी राखेर एमालेवालाहरुले केपी ओलीको ज्यादती धेरै सहने छैनन्

Breaknlinks
Breaknlinks

नेपालको राजनीतिको वर्तमान अवस्थालाइ हेर्ने हो भने जे नहुनु पर्ने हो त्यो भैरहेको छ, अनि जे हुनुपर्ने हो त्यो हुन सकेको छैन।

भन्न सुन्नको लागि लोकतन्त्र छ, संवैधानिक सर्वोच्चता सहित विधिको शासन छ, स्वतन्त्र प्रेस छ। तर व्यवहारलाइ हेर्ने हो भने संविधान ऐन नियमभन्दा मेरो बोलीको महत्व ठुलो छ भन्ने मानसिकता बोक्नु भएको प्रधानमन्त्री हुनुहुन्छ।

हरेक जसो पार्टीहरुमा कमिटिको अधिनमा नेता हैन, नेताको अधिनमा कमिटि छ। अनि प्रेस कतै भ्रमित, कतै दमित त कतै प्रताडित छ। जानेर नजानेर सत्यको हल्ला गर्नमा हैन, हल्लालाई सत्य ठानेर त्यसैलाई समाचार बनाउन विवश छ।

यो सबै कुराले गर्दा लाग्छ लोकतन्त्र कतै नाममै  सिमित, विधिको  शासन नारामै सिमित र स्वतन्त्र प्रेस भनाइमै सिमित भएको छ। यो अत्यन्त चिन्ताजनक र दुखद कुरा हो। भनिन्छ कि कालो बादलमा पनि चाँदीको घेरा हुन्छ। अहिले नेपालको राजनीतिक कालो बादलको किनारामा पनि आशाको किरण देखिएको छ, जसलाई कालो बादलको बीचमा पनि देखिएको चाँदीको घेरा भन्न सकिन्छ। र बिना कुनै संकोच भन्नु पर्छ कि त्यो चाँदीको घेराको भूमिकामा अहिले नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समुह छ। जसले आफू हेपिएर च्यापिएर अनि पेलिएर पनि न्याय, विधि पद्दतिको पक्षधरता छोडेको छैन।

सत्ता र शक्तिको आडमा चलेको अधिनायकीको बाेलवाला रहेको हुनाले एमालेको त्यो समुहलाइ कतिपयले कठिन अवस्थामा, अन्योलमा र कतिपयले संकटमा छ भन्ने गर्छन। तर यथार्थमा चाहिं त्यो सबैभन्दा ठिक बाटोमा छ र सफलता उन्मुख छ। यसो भन्दै गर्दा कतिपयलाइ अचम्म लाग्न सक्छ, अपत्यारिलो लाग्न पनि सक्छ। त्यस्तो लाग्नु अस्वाभाविक हैन। एमाले पार्टीमै रहँदा एमालेको वाहलवाल नेतृत्वबाट नै उपेक्षित, अपमानित र प्रताडितहरुले आफू सफल हुँदै देशलाई निकासा कसरी देलान भन्ने बुझ्न एमालेलाई राम्रो सँग बुझ्नु पर्छ।

नेपालको राजनीतिलाइ नजिकबाट नियाल्नेहरुले बुझेको अनि सबैले बुझ्नु पर्ने एउटा सत्य के हो भने नेकपा एमाले लामो संघर्ष गर्दै समयको माग अनुसार आफूलाई रुपान्तरण गर्दै आएर बनेको पार्टी हो। यसले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) स्थापनादेखि अनेकन समुहमा विभाजित मध्यको एक अग्रणी कम्युनिष्ट पार्टी अर्थात नेकपा (माले) भएर २०४६ सालसम्म आउँदा आफ्नो राजनीतिक औचित्य पुष्टि गर्ने, देशको राजनीतिमा आफ्नो बलियो उपस्थिति जनाउने र प्रजातान्त्रिक आन्दोलनको एक महत्वपूर्ण शक्तिको रुपमा उभ्याउने काम गरेको थियो। भलै पार्टीको उदयभन्दा त्यसको टिकाउ अनि त्यसभन्दा ज्यादा जनताको बीचमा त्यसको विकाउ महत्वपूर्ण हुन्थ्य। जुन काम एमालेका तत्कालिन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको सिद्धान्त र त्यसको प्रयोग मार्फत गर्दै गयो।

२०४६ सालपछि मालेबाट एमाले बनेको पार्टीले आफूलाई क्रमश एक जिम्मेवार र जनपक्षिय राजनीतिक दलको रुपमा स्थापित गर्दै लागेकै हो। सिधै भन्नु पर्दा एमालेमा मदन भण्डारीले प्रतिपादन गरेको राजनीतिक सिद्धान्त अनि उहाँपछि महासचिव बनेका माधव नेपालको नेतृत्वमा भएको बहुदलीय जनवादको अभ्यास अनि जनतालाई प्रमुख ठान्ने नीतिको निरन्तर अभ्यासले एमालेको जगलाइ सधैं बलियो राख्न सक्यो। जनताको शान्ति प्रतिको चाहना र त्यसको पूर्ति गर्ने एक मात्रै बाटो भनेको माओवादीलाइ संसदीय प्रणालीमा ल्याउनु हो भनेर जनताले गरेको तत्कालिन छनोटको कारण लोकप्रियताको बावजुद पहिलो संविधानसभामा एमालेलाई प्राप्त नकारात्मक परिणामको आधारमा जसले जति माधव नेपालको नेतृत्वलाइ खिसी ट्युरी गरे पनि यथार्थ के हो भने एमालेको बलियो जग कायम हुनुको मुख्य श्रेय चाहीं माधव नेपाललाई नै जान्छ।

तत्कालिन समयमा जारी द्वन्द्ध अनि त्यसको जगमा चलेको अतिवाद अनि त्यसलाई आधार बनाएर राजाले चलाएको निरंकुशताको बीचमा पनि गाउँ गाउँमा संगठन नबचाएको भए आज माधव नेपालमाथि शासन गर्न केपी ओलीले जुन पद, प्रतिष्ठा र शक्ति पाउनु भएको छ त्यो सम्भव थिएन भन्ने स्वयम केपी ओलीलाई पनि थाहा छ।

एमालेको यथार्थ बुझ्दै गर्दा अर्को बुझ्नै पर्ने कुरा के हो भने यो नेताहरुको विशिष्ट नेतृत्व क्षमताले भन्दा पनि कार्यकर्ताको त्याग, वलिदान र समर्पणले टिकाएको पार्टी हो। भलै त्यसो भन्दै गर्दा असल चरित्र सहित जनपक्षधरता भएका व्यक्तिहरुलाई पार्टीमा गोलवन्द गर्ने केन्द्रीयदेखि स्थानीय नेताहरुलाई पनि त्यसको श्रेय त फेरी पनि पाउने नै भए। तर फेरी पनि एमाले जोगिएको नेकपा एमालेका तिनै कार्यकर्ताले गर्दा हो जसले माओवादी युद्धको राप र शाही निरंकुशताको तापमा पनि एमाले जोगाए।

त्यति मात्रै हैन उनीहरुले न माओवादीले सुरु गरेको कथित जनयुद्धको आडमा चलेको अतिवाद र आफ्नो सत्ता रक्षाको लागि तत्कालिन राजा ज्ञानेन्द्रले चालेको अधिनायकीको विरुद्ध सशक्त आवाज उठाए। कुनै प्रकारको डर त्राश नमानिकन ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्दै अगाडी बढे। प्रजातन्त्र प्राप्तिको आन्दोलनको सहयात्री रहेको नेपाली कांग्रेस सँग आवश्यकता अनुसार संघर्ष र सहकार्य गर्दै रहे भने कुनै बेला आफ्ना नेता कार्यकर्ताको कत्लेआम गर्ने माओवादीसंग पनि शान्ति प्रक्रिया पश्चात त सहकार्य मात्रै हैन इमान्दारीपूर्ण ढंगले एकता नै गरे।

जब प्रतिस्पर्धी कांग्रेससँग सहकार्य अनि माओवादीसँग सहकार्य हुँदै एमालेले गरेको एकताको कुरा आउँछ तब त्यसले एमाले पंक्तिमा रहेको अनुशासनको पाटोलाई उजगार गर्छ। आफ्नै दुख र मेहेनतले टिकेको पार्टीलाइ कहिले कांग्रेसको सहयोगी त कहिले माओवादीको सहयात्री  बनाउँदा पनि चुँ नगरिकन कार्यकर्ताले साथ र समर्थन गरे। त्यती मात्रै नभएर कुनै बेला नेताकै नीति र निर्देशनमा माओवादीविरुद्ध आगो ओकल्ने एमालेहरुले आफ्नो अध्यक्ष केपी ओलीको एकल निर्णय र अग्रसरतामा आलो पालो सत्ता र पार्टी नेतृत्व गर्ने सहमतिमा आधारित एकतालाई स्वीकार्दै माओवादीका नेतालाई आफ्नो नेता र माओवादी कार्यकर्तालाई आफ्नो सहकर्मी  बनाए।

स्वाभाविक हो कि त्यसो गर्न एमालेजनको मन  मानेको थिएन तर पनि अनुशासित भएर त्यसको पालना गरे। भलै नीति सिद्धान्त र संगठनको टुंगो नगर्दै हतारमा एकता भयो भन्न छोडेनन्। यदी एमाले माओवादी मिलेर बनेको नेकपाले वर्तमान प्रधानमन्त्रीको अधिनायकी शैलीको मारमा परेर विभाजन नभोगेको भए उनीहरुले पार्टी एकताको दौरान भएका गल्ती त्रुटीलाई विधिवत रुपमा उठाउने र संस्थागत रुपमा टुंग्याउने थिए नै। तर विडम्वना केपी ओलीले पार्टी र सरकारको नेतृत्व आलो पालो गर्ने भनेर आफैंले गरेको सहमति विपरित जाने, सत्ता र पार्टी नेतृत्व आफैं राख तर सल्लाहमा चल भन्दा पनि नमानेर पार्टीको अर्को अध्यक्षसहित शिर्ष नेताहरुको मान मर्दन गर्न थाले पछि के के भयो, त्यो त सबैले देखेकै छन्।

यो सवै बेथितिको बीचमा एकिकृत भएको पार्टीलाई अदालतका दुइ न्यायधिशको फैसलाले एकता पूर्वकै अवस्थामा पुर्यायो। परिस्थिति बदलिएको छ, सबै बदलिएका छन् तर एमालेको पंक्ति अहिले पनि बदलिएको छैन। उनीहरु फेरी पनि विधि र पद्दतिमा चलेको अनुशासित पार्टीकै पक्षमा छन्।

एमालेको पंक्ति विधि र पद्दतिको पक्षमा छन भन्दै गर्दा कतिपयलाई त्यसो भनेको उनीहरु सबै माधव नेपालको पक्षमा छन भन्न खोजियो भन्ने लाग्न सक्छ। तर त्यस्तो हैन। विधि र पद्दतिको पक्षधर कार्यकर्ताहरु एमालेको दुवै पक्षमा छन्। हो वर्तमानमा केपी ओलीबाट विधि र पद्दति विपरित थुप्रै काम भएका छन्। अनि माधव नेपाल-झलनाथ खनाल सहितका बहुसंख्यक स्थापित नेता कार्यकर्ताहरु विधि र पद्दति रक्षाको पक्षमा लागेका छन्। तर त्यसो भन्दैमा केपी ओलीको समर्थनमा रहेका सबै विधि पद्दतिभन्दा ज्यादा हुकुम प्रमांगी मान्नेहरु छन् भन्ने विल्कुल हैन। यति जरुर हो कि उनीहरुलाई अझै पनि भ्रम छ कि केपी ओलीले गर्नु भएका कामहरु विधि सम्मत छन र त्यसभन्दा महत्वपूर्ण कुरा केपी ओलीले आफू मात्रै राष्ट्रवादी अरु सबै देशद्रोही अझैभन्दा भारत पक्षधर भनेर फैल्याउनु भएको नियोजित भ्रमले पनि उनीहरुलाई प्रभाव पारेको छ। अर्थात केपी ओलीको पक्षमा उभिने एमालेहरु पनि विधि पद्दति विरोधी हैनन् र हुनै सक्दैनन्, उनीहरु भ्रमित हुन र त्यो भ्रमको पर्खाल छिट्टै ढल्नेछ।

अनुशासित, समर्पित र लगनशीलताको अलावा असली एमालेहरुको अर्को विशेषता छ। त्यो भनेको उनीहरु विवेकी छन् र एमालेजनको त्यो विशेषता जब समग्रता मै प्रयोगमा आउँछ तब फेरी एक पटक नेकपा एमाले आफ्नो आंगको धुलो झारेर अगाडी बढनेछ। श्रद्धय केपी ओली अनि उहाँको सत्ताबाट लाभावान्वितहरुले सिर्जना गरेको नियोजित भ्रमले एमालेको विवेकशिल पंक्तिलाई लामो समय प्राभावित गर्न सक्ने छैन।

उनीहरु हेरिरहेका छन् कि केपी ओलीले कतिन्जेल यो एकलकाटे शैली अपनाईरहनु हुन्छ। उनीहरु हेरीरहेका छन् कहिले केपी ओलीले बुझ्नु हुन्छ कि आपसी सल्लाह र सहमतिमा पार्टी संचालन गर्दा त्यसको नेतृत्व लोकप्रिय अनि सिंगो पार्टी सफल हुन्छ।

एमालेको विवेकशील पंक्ति आशा पनि गरिरहेको छ कि त्यसको अध्यक्ष केपी ओलीलाई सुधार्न सकिन्छ। उहाँलाई फेरी पनि पार्टी एकताको सहि मार्ग हुँदै सकारात्मक राजनीतिको राजमार्गमा ल्याउन सकिन्छ।  त्यसैले उनीहरु मध्य केही उहाँलाई छोडेर हैन उहाँसँग जोडिएर हिँड्नु ठिक हुन्छ भन्ने ठानीरहेका र त्यसै अनुसार व्यवहार गरिरहेका छन्। कतिपय चाहिं उहाँसँग आमना सामना गरेर प्रतिवाद गरेर मात्रै उहाँलाई सुधार्न सकिन्छ र सकिएन भने पनि त्यस मार्फत पार्टी जोगाउन सकिन्छ भन्नेमा छन र त्यही गरिरहेका छन्। तर दुवै पक्षमा रहेका एमालेहरु सदाझैं सुदृढ, सुसंस्कृत, अनुशासित र जनपक्षिय एमालेको पक्षमा छन् अर्थात गन्तव्य उहीँ छ बाटो फरक। यो नै सत्य हो। त्यसैले प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपी ओली र उहाँका आसे पासेहरुले बुझ्दा हुन्छ कि एमाले विवेकशिलहरुको बाहुल्यता रहेको पार्टी हो। र ती विवेकशील एमालेहरुले अन्याय, अत्याचार र थिचो मिचो लामो समय सहने छैन।

अनेकन अपराध कार्यमा संलग्न गैर एमालेहरुसँग हात मिलाउँदै गर्दा नेकपा एमाले बनाउन, टिकाउन र यहाँसम्म ल्याउन भूमिका खेल्नेहरुको दोहोलो काँढ्न  तम्सने केपी ओली प्रवृतिको विरुद्ध सिंगो एमाले एकजुट हुनेछ। आशा यत्ति हो कि सँगै रहेका भनिएकाहरुले पनि विद्रोह गर्नु अगावै केपी ओलीमा सुधार आउन सकोस्। अपेक्षा यही हो कि केपी ओली र उहाँको सानो घेराको ज्यादतीलाई त्यस समुहकै साझा र सर्वस्वीकृत कार्यशैली ठानेर माधव नेपालहरुले नयाँ पार्टी बनाएको देख्न नपरोस्। तर फेरी पनि विश्वास छ कि एमालेको विवेकी पंक्तिले केपी ओलीको ज्यादतीलाई लामो समय सहने छैन।

सत्यको पक्षमा, विधि र पद्दतिको पक्षमा रहेको एमाले पंक्तिले आफैं भित्र पनि गलतको विरुद्धमा लड्ने छ र सुरुमा भनिए जस्तै कालो वादलको किनारको चांदीको घेरा बनेर  देशलाई एउटा नयाँ दिशा दिनेछन् र हामी सबैले बुझेको जनपक्षधरतामा आधारित स्वच्छ र इमान्दारहरुको बाेलवाला भएको एमालेको जगजगी हुनेछ। 



शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश

प्रकाशित मिति: : 2021-04-21 22:43:00

प्रतिकृया दिनुहोस्