भारत सरकारको निमन्त्रणामा ११ दिनअघि भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किएका छन्।
हरिद्वारस्थित गंगा नदीमा १२ वर्षपछि लागेको कुम्भमेलामा शाहीस्नान गरी फर्किएका उनले त्यहाँ 'हिन्दु राजा' को सांस्कृतिक भूमिका निर्वाह गरेका हुन्।
उनी विमानस्थलमा अवतरण गर्दा उनको स्वागतमा सयौँ 'राजावादी' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका थिए। स्वागतमा बालबालिका, युवादेखि वृद्धवृद्धासम्म सहभागी थिए।
सहभागीका हात–हातमा पुष्पगुच्छा थिए। स्वागतमा बाजागाजासहितको सहितको सांस्कृतिक झाँकी पनि देखिन्थे। राजतन्त्र पुनःस्थापनाको माग गर्दै नारा पनि लगाएका थिए। गुन्युचोलीमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए। कडा सुरक्षाका बाबजुद पनि पूर्वराजालाई भेट्ने र माला चढाउने उत्सुकता पनि थियो।
पूर्वराजालाई धुमधाम साथ स्वागत भयो । स्वागत ग्रहण गरिरहँदा पूर्वराजा ज्ञानेन्द्रको चेहरामा केही उत्साह र आशा थपिएको देखिन्थ्यो।
भारत सरकारको निमन्त्रणामा कुम्भमेलामा भाग लिन सपत्नी गएका थिए– पूर्वराजा ज्ञानेन्द्र शाह। त्यहाँ हिन्दू सम्राटको उपाधिसमेत दिइएको थियो।
भारतमा पनि पनि भब्य स्वागत भएको थियो। हरिद्वारमा उनको स्वागतमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो। उनको स्वागतमा १७ लाख भारु खर्च गरेर विशेष रथ तयार पारिएको थियो।