पूर्वराजा ज्ञानेन्द्र शाहका लागि हरिद्धारमा १७ लाख भारतीय रुपैयाँको रथ निर्माण भएको खुलासा भएको छ।
गत सोमबार हरिद्धारको कुम्भमेलामा शाहीस्नान गरेका पूर्वराजा शाहलाई रथारोहण गरेर स्नान गर्ने ठाउँसम्म पुर्याइएकाे थियो।
उनको सम्मानका लागि निरञ्जनी अखडाका प्रमुख आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरीले विशेष रूपमा रथको निर्माण गर्न लगाएका थिए।
पूर्वराजालाई महामण्डलेश्वर कैलाशान्दसँगै जुना अखाडाका महामण्डलेश्वर अर्जुन पुरी, केन्द्रीय मन्त्री साध्वी निरञ्जन ज्योति, आचार्य बालकृष्ण, प्रधानमन्त्री मोदीका भाई प्रह्लाद मोदीले भब्य स्वागत गरेका थिए।पूर्वराजाको सम्मानमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो।
पूर्वराजाका लागि हरिद्धारबाट राजधानी नयाँदिल्लीसम्म फर्किन हेलिकोप्टरको व्यवस्था गरिएपनि पूर्वराजा गाडीबाटै फर्किएका थिए। शाह आइतबार दिउँसो नयाँदिल्ली हुँदै ३ बजेर ३० मिनेटमा काठमाडौं अवतरण हुने कार्यक्रम रहेको छ।
यसपालिको कुम्भमेलामा पूर्वराजाको भब्य स्वागत भएको भ्रमण टोलीमा समावेश नेपाली पण्डित केशवराज घिमिरेले जानकारी दिए। उनले पूर्वराजाको कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गरेका थिए।
हरिद्धार भ्रमणका क्रममा पताञ्जली योगपीठका संस्थापक योग गुरु बाबा रामदेवले आफै गाडी हकाएर आफ्नो आश्रम पुर्याएका थिए। यस अवसरमा आचार्य बालकृष्ण पनि समावेश थिए।