गत माघ १९ देखि म्यान्मारमा अशान्ति र त्रास बाहेक केही छैन। सेनाले ‘कू’मार्फत् सत्ता हातमा लिएपछि बर्मेली दिनहुँ प्रदर्शनमा जुटेका छन् भने सुरक्षाफौज क्रूर दमन गरिरहेको छ।
‘जुन्ता’ सरकारले चलाएको नरसंहारमा अहिलेसम्म सात सयभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्। गल्ली–गल्ली र टोल–टोलमा प्रजातन्त्र पक्षधरहरु गोली लागेर ढलिरहँदा समेत जनप्रदर्शनमा सहभागीको संख्यामा कमी आएको छैन।
स्वतन्त्रताका लागि आन्दोलित नागरिकप्रति सेना झनै आक्रोशित देखिँदै छ। सरकारी सुरक्षाकर्मीले आन्दोलनकारीको छायाँसँगसमेत आतंकित बन्न थालेको छ । जथाभावी गोली बर्साइरहेको छ।
सैन्य जुन्ताको पछिल्लो रबैयाबाट आम नागरिक आक्रान्त र भयभित छन्। उनीहरू टोल–टोलमा प्रतिकार गर्न नागरिक दस्ता बनाउन थालेका छन्। सेनाको बर्बता बढेपछि त्यसविरूद्ध सर्वसाधारणले घरेलु हात–हतियारले प्रतिकार गर्न सुरु गरेका छन्।
सुरक्षाफौज र नागरिकबीचको मुठभेड हेर्दा म्यान्मार गृहयुद्धतर्फ जाने सङ्केत देखिएको छ। सरकारी सुरक्षाकर्मीले जनतामाथि क्रूर दमन थालेपछि विद्रोही समूहसमेत सक्रिय हुन थालेका छन्।
‘म्यान्मारको सैन्य जुन्ता बहुलाएको छ। जनता देख्नै हुन्न, भेट्यो कि गोली हान्छ। हामी त्रासमा बाँचिरहेका छौँ र बन्दूकको धम्कीमा पटक्कै बाँच्न सक्दैनौँ,’ बर्मेली नेपाली युवक तुलसीराम खनालले भने, ‘त्यसैले त प्रजातन्त्र र स्वतन्त्रताको लडाईँमा निर्भिकतासाथ डटेर लड्ने छौँ।’
शोकमा नेपालीभाषी
म्यान्मारको उत्तरपश्चिमस्थित टमुनगरस्थित नेपाली बस्तीका एक दम्पतीको त्यहाँको सेनाले गोली हानी हत्या ग-यो। मोटरसाइकलमा सवार किशन गौतम, ४०, र उनकी श्रीमती हरिमाया गौतम, ३०, लाई सैन्य परिषद्का सदस्यले मंगलबार गोली प्रहार गरे। उनीहरू ठाउँको ठाउँ ठहरै भए।
भारतसँग सीमा जोडिएको टमूमा बसोबास गर्ने गौतम दम्पती नेपालीभाषी अर्थात् गोर्खा जातिका हुन्। हरिमायाका जेठा दाजु होमनाथ न्यौपानेले बिएल नेपाली सेवालाई दिएको जानकारीअनुसार उनीहरू टमूमा दुग्ध व्यवसाय गर्थे।
होमनाथले दिएको जानकारीअनुसार, उनीहरुलाई बजारसम्म पु-याउन गाईको दूध सङ्कलन गरेर फर्किरहेका बेला हत्या गरेका थिए। गौतम दम्पती घर फर्कन ढिला गरेपछि परिवारले खोजी गरिरहेको थियो तरसेनाले हत्या गरेको खबर एकाएक गाउँभरि फैलियो। त्यसपछि टमू शोकमा डुब्यो।
‘मृतकको लाससम्म पुग्ने हिम्मत कसैको थिएन। पछिल्लो अवस्थालाई ध्यानमा राखेर आफन्त र परिवारसमेत त्यहाँ जान सकेनौँ,’ होमनाथले भने, ‘प्रहरीले बताएपछि मात्रै उनीहरूको मृत्युबारे थाहा पायौँ।’ उनीहरूको मंगलबार दिउँसो नै अन्त्येष्टि गरिएको छ।
गौतम दम्पतीले कोरोना महामारीलगत्तै थाइल्याण्डबाट म्यान्मार फर्किएर दूध व्यवसाय थालेका थिए। उनीहरूका तीन जना छोराछोरी छन्।
जेठो छोरा सन्तोष थाइल्याण्डमै बस्छन्। कान्छो छोरा सुनील र छोरी आरती टमूमै रहेका छन्। टमूनगरमा करिब साढे तीन हजार नेपालीभाषीको बसोबास स्थल हो।
आफन्तका अनुसार, किशनलाई गालामा गोली लागेको थियो भने हरिमायाको पछाडिपट्टि गोली लागेको छ।
घटनापछि टमूनगरलाई सरकारी सुरक्षाफौजले नियन्त्रणमा राखेको छ। त्यसैले त्यहाँका नागरिकहरूले तीन दिनदेखि विरोध प्रदर्शन गर्न समेत सकेका छैनन्।
जुन्ताका सेनाले शनिबार टमू शहरमा व्यापक छापा मारे। उनीहरूले सरकारविरोधी प्रदर्शनकारीहरूले निर्माण गरेको तटबन्धहरू ध्वस्त पारेको स्थानीयहरू बताउँछन्।
प्रदर्शन हिंसात्मक हुँदै जान थालेपछि सीमाक्षेत्रमा कडाइ गरिएको छ।
सरकारबाट त्रसित टमूबासीहरू घर छाडेर भाग्न विवश छन्। उनीहरू भारतको मणिपुर राज्यका विभिन्न स्थानमा शरण लिइरहेका छन् । कतिपय अन्य शहर तथा गाउँतिर छन्।
प्रजातान्त्रिक आन्दोलनमा नेपाली मूलका तीन जना गोर्खालीले हालसम्म ज्यान गुमाइसकेका छन्। यसअघि सान राज्यको उत्तरी क्षेत्र मुसेनगर होमुन ग्राममा ४३ वर्षीय सानाभाइ विश्वकर्मालाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरेको थियो।
साहित्यकार लक्ष्मण न्यौपानेले म्यान्मारको प्रजातान्त्रिक आन्दोलनमा नेपाली मूलका बर्मेली नागरिक (गोर्खा) फेरि पनि शहीद भएको बताए। ‘अहिलेसम्म देशभरिको यस आन्दोलनमा बर्मेली गोर्खाली छ जनालाई गोली लागेको छ। तीमध्ये तीन जना शहीद भएका छन्,’ उनले भने, ‘१० जना सैन्य हिरासतमै थुनिएका छन्।’