पर्यटन पुनरुत्थानका लागि नीतिगत सुधार र बजेट व्यवस्थापन : पर्यटनमन्त्री

File photo
File photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारीले थलिएको मुलुकको पर्यटन पुनरुत्थान तथा प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधारका साथै बजेट व्यवस्थापनमा पहल गर्ने बताएका छन्। 

कोभिडबाट प्रभावित पर्यटन पुनरुत्थान, नीतिगत सुधार, चालिनुपर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा मन्त्री ढकालले यस पटक बजेट निर्माणमा थुप्रै सीमितता भए पनि पर्यटन पुनरुत्थानका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए। 

उनले पहिले जस्तो अवस्था नभए पनि कोभिडले पर्यटन क्षेत्रलाई बढी प्रभावित गरेकाले पर्यटन पुनरुत्थनाका लागि आफूले पहल गरेको उल्लेख गरे। 'अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ। तर कोभिडको दोस्रो चरणको सङ्क्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सतर्कताका साथ अघि बढ्नुपर्ने अवस्था छ' पर्यटनमन्त्री ढकालले भने। 

महामारीले थलिएको मुलुकको पर्यटन पुनरुत्थान तथा प्रवद्र्धनका लागि चालिनुपर्ने कदम र भावी नीतिका विषयमा बोर्डले पर्यटन व्यवसायी एवम् सरोकारवालासँग अन्तरक्रिया गरेको हो।

‘आजको पर्यटन चुनौती र अवसर’ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रकै मेरुदण्डका रुपमा विकास गर्नेगरी योजना बनाइए पनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताए। उनले यो समयमा पूर्वाधार विकाससँगै मानव संसाधन विकासमा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे। 

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिलेको परिस्थति पहिलेभन्दा फरक रहे पनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अगाडि बढाउनुपर्ने अवस्था रहेको जानकारी दिए। उनले आउने बजेटमा पर्यटन पुनरुत्थान र प्रवद्र्धनका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने बताए। 

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यकता भएको बताए।

उनले नेपाललाई सबै उमेर, समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढङ्गले गन्तव्य विस्तार गर्नुका साथै पर्यटन मैत्री नीति आवश्यक भएको बताए।

 नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रवद्र्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जानकारी दिँदै उनले त्यसका लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने बताए। 

बोर्डका सञ्चालक समिति सदस्य कल्पना धमलाले कोभिडका कारण सिर्जित समस्याले बजेट अभाव रहेकाले आउने वर्षका लागि बोर्डलाई अनुदान वा ऋण सहयोग गर्न सरकारलाई आग्रह गरे। 

यस्तै, बोर्डका निर्वतमान कार्यकारी प्रमुख दीपकराज जोशीले मन्त्रालयगत हुने कतिपय अन्य बजेट कटौती गरेर भएपनि यसको पुनरुत्थानलाई बजेट विनियोजन हुनुपर्ने उल्लेख गर्दै ‘भिजा फ्री’ को अवधारणा पनि आवश्यक रहेको बताए। 

कार्यक्रममा होटेल सङ्घ नेपाल हानका अध्यक्ष सिर्जना राणा, नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कुलबहादुर गुरुङ, प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे, बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटा, पर्यटक यातायात व्यवसायी महासङ्घका अध्यक्ष रामहरि शर्मा, टानका महासचिव सरिता लामा, पर्यटन व्यवसायी मेघ आले, विजय झुनझुुनवाला, सङ्र्घष विष्ट लगायतले सरकारले समस्यामा परेका व्यवसायीलाई राहत दिने गरी नयाँ बजेटमा व्यवस्था गर्नुपर्ने, कोभिडका कारण बन्द रहेका समयका करहरु मिनाहा गर्नुपर्ने माग गरे।

उनीहरुले पर्यटन व्यवसायलाई बचाउन र चलायमान बनाउन राज्यले सहयोग नगरे व्यवसायीहरु पलायन हुने स्थिति आउन सक्ने बताए। रासस 

प्रकाशित मिति: : 2021-04-12 21:20:00

प्रतिकृया दिनुहोस्