मन्त्री तामाङ भन्छन्- 'खेलकूद विकासका लागि सरकार अग्रसर छ' 

युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन्।

नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै उनले खेलसँगै खेलाडीको भविश्य पनि सुनिश्चित हुनुपर्ने बताए।

मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकूदको विकासमा कदम चालेको बताए।

स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकूद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए। स्थानीयस्तरबाटै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याएका थिए। 

देशभरका सात वटा सोतोकान करातेका ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता आज दिनभर चल्ने र साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुरस्कार वितरण गर्ने एशोसियसनका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए।

एशोसियसनले हरेक वर्ष विभिन्न चरणमा विभिन्न खेलको प्रतियोगिता गर्दै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन दिने काममा अग्रसरता देखाउँदै आएको बताए।

प्रकाशित मिति: : 2021-04-10 14:20:00

प्रतिकृया दिनुहोस्