नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जयन्ती केवल उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण रहेको बताएका छन्।
शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो भनेका हुन्।
‘उहाँको व्यवहारबाटै दिनुभएको शिक्षाले आज हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ। क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन्। बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ’ उनले भनेका छन् ‘बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि हो। करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।’