युक्रेन पनि तयार भयो रुससँग वार्ता गर्न, इस्तानबुलमा भेटिएला युद्ध अन्त्यको बाटो?

रुसका राष्ट्रपति भ्दादिमिर पुटिनको आकष्मिक आह्वान र अमेरिकी राष्ट्रपतिको सुझावसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जलेन्स्की आफू पुटिनलाई भेट्न आतुर भएको बताएका छन्। 

रुसका राष्ट्रपति आफैले यही मे १५ मा वार्ता गर्न आफू तयार रहेको बताएका थिए। त्यसका लागि वार्ताको स्थान पनि उनी आफैले तोकेका थिए। उनको प्रस्तावअनुसार जेलेन्स्कीले टर्कीको सहर इस्तानबुलमा पुटिनको प्रतीक्षा गर्ने बताएका हुन्। 

त्यो वार्तामा पुटिन आफै उपस्थित हुनेबारेमा भने केही बताइएको छैन। 

त्यो अपिलसँगै अमेरिकी राष्ट्रपतिले पुटिनको प्रस्तावअनुसार टर्कीमा वार्ता गर्न जेलेन्स्कीलाई भनेका थिए। युक्रेनले रुसको यो आह्वानलाई तत्काल स्वीकार्नुपर्ने भन्दै ट्रम्पले त्यसबाट कम्तीमा अघि बढ्ने बाटाहरू खुल्नसक्ने बताएका थिए। 

‘वार्तामा बसेपछि कम्तीमा सम्झौता हुन सक्छ कि सक्दैन भन्ने कुराको निर्क्योल हुनसक्छ। सम्झौता हुनै सकेन भने पनि कम्तीमा युरोपेली नेताहरू र अमेरिकालाई कुन कुन विषयवस्तु कहाँ कहाँ छन् भन्ने प्रस्ट हुनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए ‘त्यसैले तत्काल, अहिले नै वार्ता गरिहाल…।’ 

लगत्तै जेलेन्स्कीले मे १५ का दिन टर्कीमा आफू पुटिनको प्रतीक्षामा रहनसक्ने बताएका हुन्। 

‘मान्छेको ज्यान गइरहेको छ। यो अवस्थालाई अझ लम्ब्याइरहनु राम्रो होइन’ जेलेन्स्कीले भनेका छन्। 

यसअघि बेलायती प्रधानमन्त्री केअर स्टार्मर, फ्रान्सका राष्ट्रपछि एमानुएल म्याक्रोसहित युक्रेन पुगेका युरोपेली शीर्ष नेताहरूको रुसलाई निशर्त ३० दिनका लागि युद्धबिराम गर्न अपिल गरेका थिए। 

त्यसपछि पुटिनले त्यसका लागि आफूहरू तयार रहेको भन्दै सिधै युक्रेनसँग वार्ता गर्ने सन्देश पठाएका हुन्।

‘द्वन्द्वका कारणहरू समाधान गर्न र बलियो दीगो शान्तिका लागि अघि बढ्नका लागि हामी गम्भिर वार्ताको पर्खाईमा छौं’ पुटिनले एउटा टेलिभिजन सम्बोधनमा भनेका थिए। 

यसअघि अमेरिकालगायत थुप्रै राष्ट्रहरूले रुस-युक्रेनको युद्ध बिरामका लागि पटक पटक प्रयासहरू गरिसकेका छन्। अमेरिकाले दुबैसँग कैयौ चरणको वार्ता गरिसकेको थियो। 

तर युद्धबिरामका लागि गम्भिर नभएको भन्दै पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसका राष्ट्रपति पुटिनसँग रिसाएका थिए। 

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसको जवाफमा अहिलेसम्म पनि युक्रेन रुससँग लडिरहेको छ। 

यो युद्धले मात्रै दुई देशको जनधनको क्षति गरेको छैन, बरु पूरै विश्वकै एउटा चक्र यसरी बिथोलिदिएको छ कि सारा संसार अहिले यो युद्ध अन्त्यको कामना गरिरहेको छ। 

प्रकाशित मिति: : 2025-05-12 09:34:00

प्रतिकृया दिनुहोस्