घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिना निलम्बित

नेकपा एमालेले पार्टीका निवर्तमान उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि छ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ । 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेताद्वयलाई निलम्वन गरेका हुन् । द्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो।

एमालेको केन्द्रीय समितिले गत चैत ७ गते वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण स्पष्टीकरण सोधेको थियो ।  स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको हो ।

पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो। त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए, जसमा प्रतिप्रश्न गरिएको थियो।

‘एकैपटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधि सभा सदस्यताबाहेक) तथा पार्टी सदस्यबाटै हाललाई ६ महिनाको लागि निलम्बन गरिएको छ,’ पत्रमा भनिएको छ ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र निवर्तमान उपाध्यक्ष भीम रावललाई निलम्बन गरेकोमा तीन दिनपछि भुसाल र पाण्डेलाई पनि निलम्बन गरेको हो। 

 

प्रकाशित मिति: : 2021-04-01 13:14:00

प्रतिकृया दिनुहोस्