कोरोना कहरबीच 'चैत १२ गते घर नआएकाे जुम्ली मर्‍याे भनी जान्नु' भन्ने जनश्रुति (भिडियो)

जुम्लामा एउटा उखान प्रचलित छ– 'चैत १२ गते नआयाकाे जुम्ली मर्‍याे भनी जान्नु।' बर्खे बाली भित्र्याएसँगै व्यापार तथा काममा हिँडेका जुम्ली धमाधम घर फर्किन थाल्छन्–चैत १२ सम्झेर।

मार्सी धानकाे स्थानीय क्यालेन्डर अनुसार हरेक वर्ष चैत महिनाको १२ गते मार्सीधानको बीउ भिजाउने चलन छ। जसलाई धान खेतीकाे लागि विशेष दिन 'बारुवा' पर्व भनिने गरिएकाे सिंजा माेफ्लाका प्रेम कामी बताउँछन्।

'चैत १२ गते देखि धान खेतीको क्यालेन्डर सुरु हुन्छ। क्यालेन्डर अनुसार धान बताउने, सुकाउने, भिजाउने तथा व्याड राख्न जोत्ने, हिल्याउने र घरमै अंकुराएकाे बिउ छर्नुपर्ने हुन्छ,' उनले भने, 'खनजाेतजस्ता काम पुरुषहरुले गर्ने भएकाले भारत तथा देशभरि घुम्ती व्यापार गर्न र काममा हिँडेकाे जुम्ली चैत १२ गते कसैगरी घर पुग्नुपर्ने हुन्छ।'

यदि चैत १२ गते धान भिजाउने बेला घर नआएकाे जुम्ली मर्‍याे हाेला भन्ने अनुमान गरिने हुनाले यस्ताे उखान भन्ने गरिएकाे स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यले बताए।

'सूचनाका अन्य माध्यम नभएकाे र सम्पर्क नहुने हुनाले चैत १२ गते घर नपुगेको जुम्ली मरेकाे आशंका गरिन्छ,' उनले भने, 'पहिले पहिले धान भिजाउने बेला घर नपुगेका सदस्यहरुको किरिया गर्ने चलन थियो। तराईमा गर्मीका कारण औलाे लाग्ने र चिसोमा बस्ने मासिन छिट्टै मर्ने संभावना हुने हुँदा पनि यस्ताे गर्ने गरिन्थ्यो।'



काम सिक्यो भने विदेशभन्दा गाउँघरै वेश (भिडियो)

जुम्लामै सुरु भयो विशेषज्ञ डाक्टरी शिक्षा

विश्वको अग्लो स्थानमा फल्ने मार्सीधान खेतीको सुरुवात बीउ भिजाएदेखि हुन्छ। चैत १२ गते भिजाएको धान १६ गते उतार्ने, घरमा न्याने गरी राख्ने, बिहान–बेलुका पानी हाल्ने र अंकुराइसकेपछि चैत २० गते व्याडमा छर्ने गरिन्छ। व्याड राखेको दिनलाई 'विशुवा' पर्वको रुपमा पनि मनाइन्छ। यो एक प्रकारको उत्सव नै हो।

चैत लागेपछि व्यापार वा कामकाे सिलसिलामा भारत गएका जुम्लीहरु घर फर्किन थालेका छन्। जुम्लीहरु नेपालकाे अन्य क्षेत्रभन्दा भारतमा बढी जाने गरेका छन्। पछिल्लो समय भारतमा काेराेना संक्रमणकाे दर उच्च छ।

हाल नेपालका ३० वटा सीमानाका खुला छन्। तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ। सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको विज्ञहरु बताउँछन्।

नेपालमा संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा नाका खुला गर्दै आएकोमा थप १६ नाका खुल्ला गरी ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो।

त्यसयता दैनिक कति व्यक्ति भारतीय भूमिबाट स्थल मार्ग हुँदै नेपाल आइरहेका छन् भन्ने तथ्यांकसमेत गृह मन्त्रालय र स्थानीय तहसँग छैन।

१० चैत २०७६ देखि नेपाल-भारत सीमा नाका सिल गरिएकोमा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउनमा खुला गरिएको थियो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले  फेरि पनि समयमा नै सावधानी नअपनाउने हो भने संक्रमणको जोखिम बढ्ने देखिएको बताए।

'जुम्लामा लागि मुख्य बाली धानलगायत बर्खे बालीकाे सिजन सुरु भएकाे छ। यही बेला भारतबाट जुम्ला आउनेकाे संख्या बढ्ने भएकाले जाेखिम बढेकाे हाे,' उनले भने, 'हामीले चाँडै सजकता अपनाएनाैं भने समस्या आउन सक्छ। प्रशासनले सूचना निकालेर नागरिकलाई सजग रहन आग्रह गरेकाे छ। तत्काल विपत् व्यवस्थापन समितिकाे बैठक बसेर केही गतिविधि गर्नुपर्ने भएकाे छ।'

नेपाल र भारतबीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा सङ्क्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन गृहकाे निर्देशन आएकाे उनले थपे।



ज्येष्ठ नागरिक भन्छन्- 'भोट हाल्दा भत्ता आउछ भन्थे, तर आएन'छ भाइ छोरा, २३ नातिनातिनाका मौरीपालक हजुरबा (भिडियोसहित)


'सीमा नाका भएर आउनेको अनिवार्य रुपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकामा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्न निर्देशन आएकाे छ,' उनले भने, 'सिमानाका प्रशासनले हामीलाई तपाईकाे जिल्लाका यति मान्छे आउँदैछन् भनेर रिपोर्टिङ गरिदिए मात्रै पनि हामी यता सजगता अपनाउन सक्छाैँ।'

प्रशासनले जारी गरेकाे सूचनामा आम नागरिकमा मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न आग्रह गरिएकाे छ । मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउनसमेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ।

पछिल्लो २४ घण्टामा देशभर १ सय ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांक छ।

यस अनुसार जुम्लामा पनि उच्च सतर्कता अपनाउँदै खेतीपाती गर्नुपर्ने आवश्यकता देखिएकाे छ भने हिउँद व्यापार र कामको सिलसिलामा भारत पुगेकाहरुलाई सिमानामा चेक जाँच गरि घरमा खेतीपाती गर्ने सक्ने वातावरण बनाउन जरुरी छ।



अब निर्धक्क ओली, प्रचण्ड मुर्दावाद भन्न सक्छु (भिडियाे अन्तर्वार्ता)

डाक्टरसँग ८४ जुनीकाे साइनाे

प्रकाशित मिति: : 2021-03-25 15:42:00

प्रतिकृया दिनुहोस्