एकदिन तातोपानी -३ लिताकाेटका चम्पासिंह शाही उनका साथीहरुसँग गाउँ नजिकैकाे खानीमा ढुंगा फुटाउँदै थिए। शरीरकाे उर्जा जति सबै ढुंगा फुटाउनमा केन्द्रित थियाे।
पसिना तिला नदीसम्म पुग्नलाई शिरबाट म्याराथन दाैडमा थिए। त्यहिबेला उनकाे उर्जासँग पाैंठेजाेरी खेल्न आइपुगेको थियाे, सिंगाे पहाड।
पहाडका अगाडि उनकाे सीप चलेन। धप्किएकाे ढुंगा र माटाेकाे खानीले उनलाई ताेप्याे। उद्दारमा खटिएका गाउँलेले उनकाे अवस्थालाई हेर्दा मृत घाेषणा गरे। अब घाट लैजानुपर्छ भनेर तयारी गर्न लगाए।
उनीसँगै खानीमा ताेपिएका अर्का एक जना सामान्य घाइते भएका थिए। उनलाई मृत घाेषणा गर्नेमध्येबाट कसैले बाेल्याे, 'अर्काे मरेकाे नाई। याे मरेकाे भयापुनि एक फेर अस्पताल लिउँ। बरु ताँइबाट च्यान लैजाउँला।'
अस्पतालमा डाक्टरले चेकजाँच गर्दा उनकाे श्वास मन्द चलिरहेको थियाे। हतारहतार उपचार सुरु भयाे। उपचार टाेलीका संयाेजक थिए, हाडजोर्नीका विशेषज्ञ डाक्टर पुजन कुमार राेकाया।
चम्पासिंहका दुबै खुट्टा भाँचिएका थिए। लामाे समयकाे अथक उपचार पश्चात् उनी बैशाखीमा हिंड्न सक्ने भए।
बिएल नेपाली सेवासँगकाे कुराकानीमा चम्पासिंहले भने, 'सबै ठिकै छ। मर्याे भनि घाट लिन तयारी भयाकाे मान्ठ तपाईसँग कुडा गर्न लाग्याछु। प्रतिष्ठानका डाक्टर साबसँग मेराे ८४ जुनीलाई साइनाे गाँसियाे।'
गाउँघरकाे इतिहासमा दर्ज हुने दुर्लभ घटना सुनेपछि हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. राेकायालाई भेटेका थियाैं।
उनले उक्त घटनालाई सम्झँदै भने, 'त्यतिबेला हाम्राे टिमले निकै जटिल शल्यक्रिया गरेकाे थियाे। हामी सफल भयाैं। ठुला दुर्घटनाबाट मरणासन्न हुने गरी भएका यस्ता कैयौं घाइतेहरुकाे उपचार गर्दा मिल्ने सफलताकाे सम्पूर्ण श्रेय उपचारमा संलग्न चिकित्सककाे टाेलीलाई नै जान्छ।'
जुम्लाकाे पहिलाे एमबीबीएस डाक्टर किरण श्रेष्ठ हुन्। त्यसपछि दाेस्राेमा डाक्टर पढेका पुजन पहिलाे एम डी हुन्। डा. किरणले विदेशमा एमबीबीएस सकाएका थिए भने पुजन नेपालकै विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छात्रवृत्तिमा पढेका हुन्।
त्यसबेला गाउँघरमा 'फलानाे डाक्टर पड्न्या भयाे' भनेर उनकाे खुब चर्चा चलेकाे थियाे। पछि जुम्लाको धेरै युवाहरुले उनैलाई प्रेरणा माने। 'पुजन दाईले सक्नुभयाे भने हामी पनि सक्छाैं' भनेर एमबिबिएसकाे तयारी गरे।
अहिले जुम्लाका धेरैले धरानलगायत अन्य ठाउँबाट आफ्नाे डाक्टरी पढाइ सकाइसकेकाे छन्।
धरानमा एमबिबिएस पढ्दा दुर्गम काेटामा पढेकाेले पनि हाेला उनमा दुर्गममा सेवा गर्ने उत्कन्ठा थियाे। भइदियाे पनि त्यस्तै, जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे स्थापना भयाे।
नेपालकाे एक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढेकाे विद्यार्थी अर्काे स्वास्थ्य विज्ञान प्रतिष्ठान खुल्दा पढाउने डाक्टर बन्याे। प्रतिष्ठानकाे सुरुवाती चरण मध्यका एक डाक्टर उनी पनि हुन्।
त्यसबेलासम्म उनले एमडी सकाइसकेका थिए। उनले माथिल्लो तहकाे पढाइ व्यक्तिगत प्रयासमै सकाए।
व्यक्तिगत खर्चलाई हेर्दा र चलेकाे चलन सम्झिँदा उनी हाल शहरकाे कुनै सरकारी अस्पतालकाे डाक्टर भएर क्लिनिक र निजी अस्पतालमा मात्रै भेटिने डाक्टर हुनुपर्ने हाे। तर पनि उनले मातृभूमि नै राेजे। कर्णाली जस्ताे भाैगाेलिक क्षेत्रमा हाडजोर्नी सम्बन्धिका बिरामीहरु अत्यधिक हुन्छन्।
सात वर्ष अगाडि कर्णालीलगायत विकट बस्तीबाट सामान्य हात भाँचिएका सामान्य बिरामी पनि उपचारका लागि महंगाे हवाई भाडा तिरेर नेपालगन्जलगायत अन्य शहरहरुमा रिफर हुन बाध्य थिए।
शहरकाे बसाइँ तथा उपचार खर्च धान्न कयाैंले घरखेत बेच्नुपरेका बाध्यता सुनाउने गरेका छन्। ती नै मध्यका एक हुन् चन्दननाथ १० का धन बहादुर सार्की।
'प्रतिष्ठान खुल्नु अगाडिकाे कुरा हाे। छाेराकाे हात भाँचियाे। प्लेन चढेर नेपालगन्ज गयाैं,' उनले भने, 'डाक्टर विनाेद थापाकाे अस्पतालमा उपचार गरायाैं। हाेटलमा खाना बस्न गरी मस्तै रुपियाँ खर्च भया। घर आएपछि ऋण तिर्न खेत बेच्नुपड्याे। अहिलेकाे जस्ताे प्रतिष्ठान र स्वास्थ बिमाकाे सुविधा भएकाे भए। त्यतिका खर्च किन हुँदाे हाे?'
आज भन्दा सात वर्ष अगाडि जुम्लाले बल्ला एउटा हाडजोर्नी विशेषज्ञ पायाे। त्याे पनि आफ्नै माटाेमा हुर्किएकाे। याे जुम्लीका लागि साैभाग्यकाे कुरा थियाे।
अहिले प्रतिष्ठानमा डा. राेकायालगायत तीन जना हाडजोर्नी विशेषज्ञ छन्। टाेलीका प्रमुख उनी आफैँ हुन्। यसभन्दा अगाडि मेडिकल निर्देशक भएर सफल प्रशासनिक नेतृत्व पनि सम्हालिसकेका छन्।
उनले कर्णाली कार्यक्षेत्र राेज्नुलाई मातृभूमिप्रतिकाे अघात माया र स्नेह पनि भन्न सकिएला। तर उनी यसलाई आफ्नाे स्वास्थ्य मानसिकतासँग जाेड्छन्।
'शहरमा भएको भए घर ठुलाे बन्थ्याे हाेला। अहिले पाइरहेको पारिश्रमिककाे तुलनामा केही भएपनि बढी पाइन्थ्याे हाेला,' उनले भने, 'बाहिर भएकाे भए मानसिक तनाव ज्यादै उच्च हुन्थ्यो हाेला। क्लिनिकल प्राक्टिस गरी पैसा कमाइन्थ्याे हाेला।अहिले आफ्नाे क्लिनिकल प्राक्टिस सँगै रिसर्चकाे काम पनि अगाडि बढिरहेकाे छ। घरमा बसेर आमाले पकाएको खाँदै यस क्षेत्रकाे स्वास्थ्य अवस्थाकाे अनुसन्धान गरी बिरामीको सेवा गर्न पाएकाे छु। याे भन्दा खुसीको कुरा अरु के हाेला?'
यति कुराहरु गर्दै गर्दा उनलाई इमर्जेन्सीबाट फाेन आइरहेकाे थियाे। जुम्लामा हाल कार्यरत डिएसपीकी आमाकाे हातमा समस्या आएछ। डिएसपीले फाेन गरेपछि उनी स्कुटर चढेर अस्पताल तिर लागे।
हामी पनि उनीसँगै अस्पताल तिर लाग्यौं। इमर्जेन्सीकाे बिरामी हेरिसकेर हामी अर्थाेपेडिक वार्डकाे बेडमा पल्टिरहेका बिरामीहरु भेट्न गयाैं।
जुम्ला पछि कालिकाेटका बिरामीहरु धेरै थिए। दैलेखसँग सिमाना जाेडिएकाे ठाउँका बिरामी पनि भर्ना भएका थिए। सुकाटिया, नरहरीनाथकाे रुप्सा, पाद्मगाड, माहाबैलगायत विभिन्न ठाउँका बिरामीहरु लामाे समयदेखि उपचाररत थिए।
पछिल्लो छ महिनामा जुम्ला बाहेक साबिककाे कर्णालीबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका हाडजोर्नीका ८० वटा केसमध्ये कालिकाेटका मात्र ६१ वटा छन्।
यसरी कालिकोटबाट बिरामी बढ्नुकाे प्रमुख कारण प्रतिष्ठानले प्रत्येक महिनामा दुई पटक विशेषज्ञ लिएर स्वास्थ्य सेवा दिनु रहेछ। उपचार राम्राे र सस्ताे हुन्छ भन्ने थाहा पाएपछि सुर्खेत जाने बिरामीहरु पनि जुम्लामा आइरहेका छन्। प्रतिष्ठानका डाक्टरहरु प्रतिकाे विश्वास कालिकाेटकाे बिरामीहरुमा असाध्यै बढिरहेकाे पाइन्छ।
त्यस्तै पछिल्लो छ महिनामा मुगुबाट १६ जना, हुम्लाबाट दुई जना र डाेल्पाकाे एक जना बिरामीको डा. राेकायाकाे टिमले सफल उपचार गरिसकेकाे छ।
उनका अनुसार मुगुका बिरामीलाई सबैभन्दा सहज जुम्ला नै हुन्छ। तर मुगुबाट जुम्ला जाेडिने माेटर बाटाे राम्राे हुने हाे भने बिरामी अझै बढ्नेछन्।
डाेल्पाबाट पनि बिरामीलाई जुम्ला आउनलाई स्तरीय सडक नै उत्तम विकल्प हाे भने हुम्लाबाट टच फ्लाइट हुन सकेमा बिरामीले आफ्नै भुगाेलमा स्तरीय सेवा लिन सक्छन्।
प्रतिष्ठानले सेवा विस्तार गर्ने विषयमा छलफल गर्दै वार्डमा पुगेपछि बेडमा आएका डाक्टर देखेर बिरामीको अनुहार बिजुली बलेकाे जस्ताे चम्किलो भयाे।
सबैभन्दा चम्किलो अनुहार लगाए चन्दननाथ -१ ठिन्केमा उत्पादन भएकाे नयाँ बिजुलीकाे पाेलमा घटेकाे नयाँ घटनाका बिरामी जंग बहादुर रावलकाे थियाे। उनी खासै कान सुन्दैनन्।
सहकर्मीले लाइन छैन भनेपछि पाेलमा चढेका उनले जब तार समाते त्यसपछि उनी भुइँमा बजारिए। त्यहाँ त लाइन रहेछ। माटाे मात्र भएकाे भुइँमा बजारिएकाे हुनाले उनकाे हात खुट्टासहित ढाडकाे हड्डी क्र्याक भएकाे रहेछ।
४७ वर्षीय बिरामी रावलले डा. राेकायातिर ओैंला तेर्स्याउँदै हामीसँग खुसी साटे, 'अप्रेसन गर्ने डाक्टर यी हुन्। दाेस्राे जन्म पायाझैं भयाे। आज २२ दिन भयाे, त्याे दिन त केही हाेस् छियाेन। थाेक्कैले(धन्न) मरिग्याछिया। अहिले त धेरै ठिक छ। हिड्न सक्न्या भैग्या। अब त बाँचे।'
बिरामीले यति बाेलेपछि डा. राेकायाकाे मुहार पनि सन्चाे भएका बिरामीकाे जस्ताे देखियाे। थाेरै भलाकुसारी पछि थाहा भयाे, जंग बहादुरकाे ढाडकाे शल्यक्रिया कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा भएकाे ठुलाे र जटिल किसिमकाे शल्यक्रिया रहेछ। डा. राेकायले याे सफलताको श्रेय पनि सम्पूर्ण टिमलाई नै दिन भ्याए।
यतिकाे अप्रेसन काठमाडौंमा रहेका सरकारी अस्पतालमा गर्दा कम्तीमा दुई/अढाई लाख बढी लाग्थ्याे। निजी अस्पतालमा त सात/आठ लाखसम्म लाग्छ। तर जुम्लामा डेड लाखमै सबै सम्भव भयाे। उनकी श्रीमतीकाे मुहारमा सिमारहित खुशी छचल्किन्थ्याे।
उनले भनिन्, 'घर नजिकै भएकाले आफन्तहरु भेटभाट गर्न आए। सबैले आड भराेसा दिए। घरकाे खाना ल्याएर बिरामीलाई खुआउन पायाैं। आलाे पालाे गरी घरका जहान कुरुवा बस्छाैं। सजिलाे छ।'
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सेवा विस्तारबारे छलफल चल्दै गर्दा डा. राेकायाले गरेकाे आफ्नाे रिसर्च जर्नलमा छापिएकाे एउटा लेखकाे विवरण सुनाए।
'जुम्लामा हाडजोर्नीका समस्या धेरैजसाे बच्चाहरुमा छ। यसकाे प्रमुख कारण जुम्लाका घरहरुकाे ओटालाे (आगन) र थाँडाे (छत) छन्। परम्परागत घरका कयाैं सुन्दर पक्ष भएपनि ओटालाे र थाँडामा रेलिङ नहुँदा केटाकेटी खेल्दै गर्दा लड्ने सम्भावना बढी हुने रहेछ। यसले समस्या ठुलाे समस्या ल्याइरहेकाे रहेछ। त्यस्तै जुम्ला आसपासका अस्पताल हरुले बिरामीकाे रिफरल सिस्टममा ढिलाई गर्दा पनि समस्या आउने रहेछ।'
कतिपय दुर्गम गाउँमा अहिले पनि हातखुट्टा भाँचिएको खण्डमा गाउँमै काब्रा (परम्परागत उपचार पद्धति) लगाउने चलन छ। यस्ताे बेला जाेडले कसिएकाे खण्डमा रगत संचालनमा अवरोध हुन गई हातखुट्टा सुन्निने, सुक्ने समस्या आउँछ।
यति हुँदा पनि धामीझाँक्री र झारफुकमा विश्वास गरिदिदा समस्या झनै बढ्न जान्छन्। अन्तिममा अस्पताल पुगेका बिरामीको उपचार न विशेषज्ञले गर्न सक्छ नत साक्षात भगवानै आएपनि सम्भव हुन्छ।
अस्पताल आउन निकै ढिलाे भैसकेकाे अवस्थामा उपचार राम्राे हुन सक्दैन। तर दाेसजति डाक्टरकै थाप्लोमा आइलाग्छ। उनलाई लाग्छ, 'सचेतना कार्यक्रम बढाउन सकेकाे खण्डमा यस्ता केसहरुकाे सामना गर्नुपर्ने थिएन।'
उपचारमा हरेक बिरामीकाे खुसी, डाक्टरकाे पनि खुसी हुन्छ। डाक्टरले आफ्नाे १०० प्रतिशत दिँदा दिँदै पनि सबै केसमा सफलता पाइँदैन। त्यसका थुप्रै कारण हरु हुन्छन्।
डाक्टरले राम्राे गर्दा गर्दै पनि कहिले काहीँ बिरामीकाे राेगकाे अवस्था उसले सुझाएकाे कामहरु नगर्नाले एकाध केसहरु असफल पनि हुन्छन्। असफलताका पछाडी अलिकति डाक्टरका सिमा पनि हाेलान्। तर ती नगन्य हुन्छन्।
चिया चाैतारीकाे सस्ताे गफमा डाक्टरका कमजोरीबारे बहस चल्छन्। तर डा. राेकाया भन्छन्, 'मैले त्यस्ता कुराहरुलाई नकारात्मक रुपमा नलिएर प्रेरणाकाे रुपमा लिने गर्छु। हामीबाट हुने कमजोरीबाट नै हामीले पाठ सिकेका हुन्छौं। सयाैं राम्रा केसबाट नै हामी उत्साहित हुन्छाैं।
सामग्री र ल्याबकाे सहज उपलब्धता भएन भने डाक्टरकाे एक्लाे प्रयासबाट केही सम्भव हुँदैन। अलि पहिले सिटिस्क्यान नहुँदा बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता हुन्थ्याे। अहिले प्रतिष्ठानमै सिटिस्क्यान हुनाले सयाैं बिरामी लाभान्वित भएका छन्।
स्तरीय ल्याब अहिले पनि समस्याको विषय बनेकाे छ। त्यस्तै अब एमआरआईकाे आवश्यकता बढ्दै गएकाे छ। कुनैकुनै विभागमा त विशेषज्ञ चिकित्सकहरु सामान्य औजारहरु उपलब्ध नहुँदा यत्तिकै बस्न परेकाे छ। यी र यस्ता कुराहरुमा प्रतिष्ठान प्रशासनले यथाशीघ्र ध्यान पुर्याउला नै।
पहिले पहिले सुन्ने बित्तिकै नाक खुम्च्याउने ठाउँ कर्णालीबाट हिजाे आज विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।
जुम्लामा विशेषज्ञ डाक्टरहरु ल्याउनै मुस्किल छ। तर डा. राेकाया भन्छन्, 'अत्यावश्यक कुराहरु जस्तै आवास र सुचना प्रविधिको पहुँच भविष्यमा चाँडै अपग्रेड हुन सक्नेलगायतकाे ग्यारेन्टी गर्न सके विशेषज्ञ डाक्टर टिकाउन खासै गाह्राे हुने छैन।
त्यस्तै कर्णालीमा स्वास्थ्य क्षेत्रकाे स्नातक र स्नातकोत्तर तहकाे अध्यापन पनि मुस्किलकाे विषय बन्ने छैन।'