बिएल संवाददाता
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को आगामी २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा यूएईबाट सक्रिय अभियन्ता रमेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।
एनआरएनएको १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुँदैछ, जहाँबाट संघको नयाँ नेतृत्व चयन गरिनेछ।
लामो समयदेखि यूएईमा व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठ प्रवासी नेपाली समुदायका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका अभियन्ता हुन्। एनआरएनए अभियानको सुरुवाती चरणदेखि नै सक्रिय रहेका उनले साधारण सदस्यबाट सुरु गरेको यात्रा एनसीसी यूएईको अध्यक्ष हुँदै अन्तर्राष्ट्रिय समितिका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल मध्यपूर्व क्षेत्रीय संयोजकसम्म पुगेको छ।
संयमित नेतृत्व, स्पष्ट निर्णय क्षमता र परिणाममुखी कार्यशैलीका कारण श्रेष्ठलाई एनआरएनएभित्र नतिजा निकाल्ने अभियन्ताका रूपमा चिनिन्छन्। संगठनभित्रको लामो अनुभव, श्रमिक समुदायसँगको निकट सम्बन्ध र प्रवासी नेपालीका समस्याप्रति संवेदनशील दृष्टिकोणका कारण उनको उम्मेदवारीलाई मध्यपूर्वका अभियन्ताले सकारात्मक रूपमा लिएका छन्।
हालका मध्यपूर्व संयोजक श्रेष्ठले उक्त पदकै लागि उम्मेदवारी दिँदै मध्यपूर्वमा रहेका नेपाली श्रमिकको हक–हित संरक्षणलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्। उनले श्रमिक राहत कोष स्थापना गर्ने, आपतकालीन सहयोग प्रणालीलाई थप प्रभावकारी बनाउने तथा प्रवासी नेपालीलाई समस्या परेका बेला संस्थागत रूपमा छिटो सहायता उपलब्ध गराउने योजना अघि सारेका छन्।
त्यसैगरी वैदेशिक रोजगार ऐन २०६४ को प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अधिकार संरक्षण तथा उनीहरूको कमाइलाई सुरक्षित र उत्पादनमुखी लगानीमा रूपान्तरण गर्ने विषयलाई पनि उनले आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। श्रमिकहरूले वैदेशिक रोजगारीसँगै नेपालमा न्यूनतम लगानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
श्रेष्ठले एनआरएनएद्वारा सञ्चालन गरिने विभिन्न परियोजनामा प्रवासी नेपाली, विशेषगरी श्रमिक समुदायको सहभागिता र लगानी आकर्षित गर्ने, नेपालमा विकास र सहकार्यका योजनालाई संस्थागत रूपमा अघि बढाउने तथा सम्बन्धित देशका दूतावास, सामाजिक संघ–संस्था, एनसीसी र आईसीसीबीच प्रभावकारी सहकार्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार संस्थाभित्र देखिएका विभिन्न चुनौती र मतभेदलाई समाधान गर्दै एनआरएनएलाई पुनः एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउनु अहिलेको प्रमुख आवश्यकता हो।
मार्च १४–१६ मा हुने १२औँ बृहत् एकता महाधिवेशनमार्फत मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिकहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने उद्देश्यसहित आफू उम्मेदवारीमा उत्रिएको श्रेष्ठले बताएका छन्।
निष्ठा, इमानदारी र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विश्वभर रहेका एनआरएन अभियन्ता, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूसँग साथ, सहयोग र समर्थनको हार्दिक अपिल गरेका छन्।
मध्यपूर्वमा रहेका श्रमजीवी नेपालीको पीडा, अनुभव र अपेक्षालाई नजिकबाट बुझ्ने नेतृत्वका रूपमा चिनिएका रमेश श्रेष्ठको उम्मेदवारीलाई एनआरएनएभित्र श्रमिक–केन्द्रीत नीति र व्यवहारिक नेतृत्वको प्रतिनिधित्वका रूपमा पनि हेरिएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया