बिहिबार, १२ मार्च २०२६

एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिमका

News Image
• • •

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गरेको छ।

आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा केही महत्त्वपूर्ण पदहरूमा उम्मेदवारहरू निर्विरोध (सर्वसम्मत) चयन भएका छन्।

निर्धारित पद संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू सर्वसम्मत भएका हुन्। यसरी सर्वसम्मत हुनेमा अधिकांश उम्मेदवारहरू अध्यक्षका प्रत्यासी रोविनप्रसाद शेरचनको टिमका रहेका छन्।

संघको पदाधिकारी तहमा विशेषगरी महिलातर्फका पदहरूमा सर्वसम्मतिको अवस्था देखिएको छ। महिला उपाध्यक्ष पदमा हङकङकी राधिका गुरुङ (टीका)को मात्र उम्मेदवारी परेको छ। त्यस्तै, महिला सचिव पदमा चीनबाट अमृता थापा (कञ्चन) र महिला सहकोषाध्यक्ष पदमा दक्षिण कोरियाबाट गंगा खतिवडा सर्वसम्मत भएका छन्। यी महत्त्वपूर्ण पदहरूमा अन्य उम्मेदवारको मनोनयन नपर्नुलाई शेरचन समूहको बलियो रणनीतिको रुपमा हेरिएको छ।

क्षेत्रीय संयोजक (आरसी) जस्तो महत्त्वपूर्ण कार्यकारी भूमिकामा पनि विभिन्न क्षेत्रबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। अफ्रिका क्षेत्रको संयोजकमा सेसेल्सबाट मनोज बीके, अमेरिकाज क्षेत्रको संयोजकमा क्यानडाबाट भुवन खरेल, युरोप क्षेत्रको संयोजकमा पोर्चुगलबाट रोबोट लिम्बु र ओसियाना क्षेत्रको संयोजकमा अष्ट्रेलियाबाट रमेश जोशी निर्विरोध निर्वाचित भएका छन्।

क्षेत्रीय महिला संयोजक तथा युवातर्फका पदहरूमा पनि धेरै उम्मेदवारहरू निर्विरोध चयन भएका छन्। क्षेत्रीय महिला संयोजकतर्फ अमेरिकाजबाट छात्रा कुमारी गुरुङ, एसिया प्यासिफिकबाट संगीता अधिकारी (सुवेदी) र युरोपबाट बाबा (राजेश्वरी) थापा क्षेत्री सर्वसम्मत भएका छन्। मध्यपूर्वको क्षेत्रीय महिला उपसंयोजकमा यूएईकी मञ्जु मल्ल (उचाई)को मात्र मनोनयन परेको छ।

त्यसैगरी, दोस्रो पुस्ता संयोजक (सेकेन्ड जेनेरेसन कोर्डिनेटर)मा हङकङकी दीपमाला ढकाल निर्विरोध भएकी छन् भने युरोपको क्षेत्रीय युवा उपसंयोजकमा शिव सागर बुढाथोकी र मध्यपूर्वको युवा उपसंयोजकमा बासुदेव सापकोटा सर्वसम्मत भएका छन्।

त्यस्तै, कतिपय पदहरूमा माग गरिएको संख्या भन्दा कम वा बराबर मात्र उम्मेदवारी पर्दा उनीहरू पनि स्वतः सर्वसम्मत भएका छन्। अमेरिकाजको क्षेत्रीय उपसंयोजक (३ पद) का लागि नेत्र पाण्डे र सरोज अर्याल, मध्यपूर्वको उपसंयोजक (३ पद) का लागि बिकल झा र विकास शाही तथा ओसियानाको उपसंयोजक (३ पद) का लागि अरुण कुमार ठाकुर र छवी प्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको छ।

अध्यक्ष पदमा डा. हेमराज शर्मा, रबिनराज बज्राचार्य र रोविनप्रसाद शेरचनबीच कडा प्रतिस्पर्धा हुने देखिए पनि मनोनयनको प्रारम्भिक सूची सार्वजनिक हुँदा शेरचन समूहले महिला र क्षेत्रीय समितिहरूमा क्लिन स्वीप गरेको हो।

निर्वाचन समितिले फागुन ३० गतेदेखि चैत १ गतेसम्म (मार्च १४–१५) काठमाडौंमा निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!