बिहिबार, ०७ अगस्ट २०२५

ज्येष्ठ नागरिक भन्छन्- 'भोट हाल्दा भत्ता आउछ भन्थे, तर आएन'

News Image
• • •

'भोट त हजुर बेलमै (सुर्यमा) हाल्याका हौं। न्याका (यहाँका) नेताले बेलमै भोट हाल्यापछि भत्ता मस्ता पाइन्याछ भुन्या। आजभोलि त पाइ आयाको भत्ता पुनि आउन छोडिल्यो।' - यो भनाई जुम्ला चन्दाननाथ नगरपालिका- ८ उमखोलाकी भुम्ली सार्कीको हो। 

उनले भोट सुर्यमा हालेकी भएपनि नगरमा चुनाव रुख र हँसिया हतौडाले जिते। उसो त केही वडामा सुर्यले पनि चुनाव जितेको हो। पार्टीहरुले स्थानीय तहको घोषाणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजारसम्म पुर्‍याउने घोषणा गरेका थिए। तर बढ्नु त कता हो कता, पाइरहेको भत्ता समेत लक्षित वर्गले समयमै पाइरहेका छैनन्। 

जुम्लाको चन्दननाथ नगरपालिकामा लक्षित वर्गले ८ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। बोहरागाउँका ७० वर्षीय चेट्टो सार्कीले दसैँ-तिहारमा उपलब्ध गराइने सामाजिक सुरक्षा भत्तासमेत पाएनन्। उनले भने, 'त्यै बेला त पायानु पायानु, अरु चार महिना  बितिसक्दा पुनि पायाका नाई।'

चन्दनाथ नगरपालिकाले आठ महिना यता सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन। भत्ता नपाएपछि समस्या भएको ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका नागरिकहरुले गुनासो गरेका छन्। 

'चुनाव जितेका मेयर, उपमेयर, अध्यक्ष, सदस्य र कर्मचारीले आफ्नो सेवा सुविधा भुन्याकै समयमा पाइहाल्छन्। हामीले पाउनुपर्ने सुविधाका विषयमा कोही चासो देखाउँदैनन्', चन्दननाथ- ३ कि ट्युकी सार्कीले गुनासो गरिन्।

चन्दननाथ- ३ जुम्लाका ७६ वर्षीय दुर्गबहादुर खत्रीले मासिक रुपमा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता ८ महिनादेखि पाएका छैनन्। जुन कुरा सरकारको बेइमानी लाग्छ। 

'दसैँ-तिहारमा भत्ता खाउँला भनेर आश गरेका कोही बुढाबुढी मरिसके। भत्ता अझै आएन', -उनले दुखेसो पोखे, 'सरकार आफै भत्ता दिन्या भन्छ। भत्ता वितरण पाउन्या ठउँकाका मान्ठ आयाको छैन भन्छन्। बेइमानी त नैपुडो(यहिँनेर) भैयो त हजुर।'

बोहरागाउँका चेट्टो सार्कीका अनुसार अब बुढाबुढीले आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। उनले भने, 'लड्नु पड्न्या भयो। नत्र अधिकार पाइन्या जस्तो छैन।'

गाउँघरमा यस्ता गुनासो गर्नेहरुको संख्या धेरै छ। तर सम्बन्धित निकायले चासो दिएको छैन। मन्त्रालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम अपुग आएकाले यस्तो समस्या आएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख राजेन्द्र भण्डारीले बताए। 'मन्त्रालयमा रकम माग गरेका छौँ', उनले भने, 'अब छिट्टै ८ महिनाको सामाजिक सुरक्षा भत्ता एकैपटक उपलब्ध गराउने तयारी गरिरहेका छौं।'

चन्दननाथमा ७ सय २० जना ज्येष्ठ नागरिक छन्। एकल महिला ३ सय ४५ जना छन्। त्यस्तै बालबालिका १ हजार ३ सय ७३ जना र अपांगता भएका व्यक्ति १ सय ६६ जना छन्। 

६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई महिनामा २ हजार भत्ता तथा ७० वर्षमाथिकालाई २ हजार भत्तासँगै १ हजार रुपैयाँ उपचार खर्च दिने व्यवस्था छ। त्यस्तै, एकल महिलालाई महिनामा २ हजार र बालबालिकालाई प्रतिमहिना ४ सय रुपैयाँ दिने गरिएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!