गोकुल बाँस्कोटा पूर्व सञ्चारमन्त्री हुन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन्। काभ्रे जिल्लाको देउपुरका स्थायी बासिन्दा उनी सो जिल्लाको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन्।
बेग्लै शैलीमा बिम्ब प्रयोग गरी अत्यन्त सीधा बोल्नु उनको विशेषता हो। माओवादीकेन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी र एमालेभित्र विवाद चुलिएपछि उनी व्यस्त छन्– विभिन्न पक्षसँगको संवादमा।
माओवादीले किन ढिलाइ गरिरहेको छ विश्वासको मत फिर्ता लिन ? के हुन्छ त सरकारका भविष्य ? अनि संसद्मा विश्वास गुमाएपछि प्रधानमन्त्री ओलीले के गर्लान् ? प्रस्तुत छ– प्रधानमन्त्री ओलीनिकट नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटासँग माधव ढुङ्गेलले लिएको अन्तर्वार्ताको यो अंश।
प्रतिनिधिसभा पुनर्स्थापना भएको भोलिपल्टै नयाँ सरकार बनाउन माधवकुुमार नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुुगेका थिए– माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तर, माओवादीले महिना दिन नाघ्दा पनि सरकारलार्ई दिएको समर्थन फिर्ता लिएको छैन। एकै घोषणापत्रबाट गठबन्धन बनाएर चुनाव लडेको माओेवादीले एमालेसँँग सहकार्य गर्ने संभावना बाँँकी छ ?
मलाई त्यस्तो चाहिँ लाग्दैन। त्यसो गर्नु थियो भने त्यत्रो १९ पेजको ‘बमबाड द हेडक्वार्टर ! मैले ठोक्दिएँँ अब कुरा तोड्नुपरेपछि’ भनेर किन भन्नुपर्थ्यो ?
पुष्पकमल दाहाललाई लहडे भनिदिएँ त मैले। जुवाडे, लहडे जम्मै हो क्या पुष्पकमल दाहाल ! अर्काको ज्यानको त फिस्लिक्कै केही पनि छैन। मांशाहारी आन्दोलन त्यस्तो गर्ने हो नि त, शान्तिपूर्ण पनि होइन !
आफूले गरेको जे पनि जायज हुन्छ भन्ने उहाँको मान्यता छ। उहाँ खास ‘म्याकेपेलियन थ्यौरी’ को प्रयोग गर्ने मान्छेजस्तो लाग्छ– पश्चिमा दर्शनको कुरा गर्ने हो भने ‘कन्स्पेरेसी थ्यौरी’ जस्तो शक्ति, सामर्थ्यको। भन्न त केपी ओलीलाई जेलमा पनि चाणक्य मात्र पढेर बस्यो भन्छन्। हो, पुष्पकमलले पनि ‘म्याकेपेलियन’ बाहेक केही पनि पढेकै होइन।
त्यसो भएको हुनाले साधारण कुरो हो– मिल्ने भए उहाँले यो गर्नुहुन्थेन। बरु पर्खेको केका निम्ति भने– उहाँले नै निर्देशन गरेबमोजिम माधव (नेपाल) कमरेडसँग यति धेरै संख्या हुनेछ, त्यो संख्याले एमालेबाट घत्रक्क विद्रोह गरेर आउने छ अथवा कब्जा गरेर आउने छ। अनि गएर अर्को पार्टीको नाम राखिने छ।
माधव नेपाललाई माओवादीमा लान त संभव छैन। त्यो सक्दै सक्दैन।
माधव नेपाल गए एक्लै पर्ने हो, माओवादीमा कोही जाने वाला छैन। बरु त्यो नाम अर्को बनाउने र उहाँहरुको पार्टीले यो गर्ने भनेर गरेको होला। फकाइफुल्याइ पनि गर्नुपर्छ यस्तो बेलामा। त्यो च्याप्टर बन्द भयो। यो सक्कियो।
अब त (माधव नेपालसँग) मिल्ने कि निस्केर जाने भन्ने मात्र विकल्प बाँकी रह्यो। निस्केर जाँदा पनि सजिलो छैन, मिल्न चाहिँ धेरै सजिलो छ।
माओवादीले किन लिन नसकेको त समर्थन फिर्ता ?
त्यस कारणले विश्वास किन झिकेनन् होला, त्यो उनीहरु (माओवादी) जानुन्। झिके हुन्छ। मैले सुनेको आजभोलि नै झिक्दैछन्।
अर्को खास लकुरा थर्थरी भएको विषय छ। त्यो डुक्रिन मिल्ने, खास कुरा भन्न नमिल्ने क्या ! एउटा सरकार बन्न सक्दैन। अर्को सरकार बन्न नसकेपछि त भ्ल्याङ्ङै आमचुनाव हो।
अर्को सरकार बन्न नसकेपछि अल्पमत सरकार त एमालेकै हुन्छ नि, किन चुनावमा जानुपर्यो र !
अल्पमत सरकार कतिञ्जेल चल्छ ? दुईतिहाई त उहीतिहाइ भो भनेपछि अल्पमत कसले चलाउने ? किन चल्छ ? कति चल्छ ? किन चलाउने अल्पमत सरकार ?
कुन विधेयक पास हुन्छ ? सरकारले सोचेको के पास हुन्छ ? गँगटे सरकार बोकेर हिँड्दैनन् केपी ओली ! कि ड्याङ्ङ प्रतिपक्षमा कि ढ्याक्क नेतृत्वमा ! कुरै त्यही हो।
एमालेले ओलीबाहेक अर्को कोही पात्रलाई प्रधानमन्त्रीमा समर्थन गर्दैन ?
म त्यस्तो ग्यारेन्टी गर्दिनँ। केपी ओली या त प्रतिपक्षमा बस्ने हो या त आफैँले नेतृत्व गरेर जाने हो– आफ्नो मिशन र भिजनमा। राष्ट्रनिर्माण केपी ओलीको मूल एजेण्डा हो। अब आन्दोलन सान्दोलन कथा हुन्– एकादेशका। यो बेकारको कुरा हो।
मान्छे किन काम पाउँदैनन् ? डलरेहरुले निकाल्छन् नि त्यहाँ– के रे ! ‘हरियो वन नेपालको धन’ भनेर। तिनलाई तिनका कुप्राबाउले भन्दै आएको त भनेका हुन्। तिनलाई चार डोका घाँस काटेर ल्याऊ भन्न त रत्नपार्कमा ‘नेपालको बन’ भनेर नाँच्न जानेलाई। सुन्तलाको बोट र कागतीको बोट थाहा नपाउनेले केका नेपालका धन र वन भनेर उफ्रिनु ? यी सब ‘इन्जेक्टेड फन्टुस’ ! एउटा पुस्ता विगार्न खोज्दै छ। यस्ताका कुरा काम छैन।
प्रधानमन्त्री केपी ओलीको चाहिँ चुनावमै रुचि किन बढेको ?
केपी ओलीले चुनाव ठोक्दिनेवाला छन्। त्यो चुनाव ठोक्दियो भने पुष्पकमललाई कुकुरलाई पानीमा चोपल्नुजस्तै हो। त्यो चुनाव छल्नलाई अविश्वास नझिकेको होला। झिक्दिऊँ अल्पमतमा पर्छ कि विश्वासको मत प्रधानमन्त्रीले लिनुपर्छ। विश्वासको मत पनि प्राप्त भएन भने नयाँ सरकार पनि कसको नेतृत्वमा बनाउने ?
प्रधानमन्त्री देउवालाई बनाउने कि आफैँ बन्ने ? ‘कम्फर्टेवल’ भनेर आफू हिँडेको छ। उहाँहरुका नाममा त्यो ‘कम्फर्टेवल’ बन्नेवाला छैन। कि देउवालाई दिनुपर्यो, बाबुराम (भट्टराई) को च्याँखे दाउ छँदैछ।
जसपा (जनता समाजवादी पार्टी) ले सरकारको नेतृत्व गर्दैन होला– ३४ सीट छ के नेतृत्व गर्नु ? ४८ सीट छ प्रचण्डले के ‘लिड’ गर्नु ?
ओदाने सरकार ! त्यस्तो बन्छ नि त– ओदाने सरकार। त्रिखुट्टी सरकार बन्छ, त्यो झन् ‘ड्यामेजिङ’ हुन्छ। दुईपाङ्ग्रे साधन र त्रिखुट्टी सरकार त ‘डेन्जर’ हो नि ! त्यहाँ समझदारी कुनै हुँदैन। त्यसो भएपछि– चुनाव।
चुनाव भए माओवादी केन्द्रलाई चाहिँ के फरक पर्छ ?
चुनाव भयो भने के पत्ला हुने वाला छ भने हिजो पो एमालेको बुई चढेर २६ बाट ३६ सीट पुग्यो। अब त कहाँ छ उहाँको निर्वाचन क्षेत्र ? अब त कठिन छ।
त्यस कारण उहाँहरु (माओवादी) दुई वर्ष तन्काउन चाहनुहुन्छ होला तर म दाबासाथ भनिदिन्छु– विश्वासको मत झिकेर देखाऊ, अर्को सरकार बनाऊ। अब या त केपी ओलीले बाँकी दुई वर्ष ‘स्मुथली’ (आरामले) चलाउने हो समर्थन पाए। नपाए त जनताले गर्ने हो फैसला। कुरै छैन। जनताको बीचमा जान किन डराउने ? जे गर्नुपथ्र्यो, जनताले नै गरिदिन्छन्।
माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै केपी ओलीले चुनाव घोषणा गरिदिने हो त फेरि ?
होइन। झिक्नासाथ त किन गर्नुपर्यो ? झिक्नासाथ त विश्वासको मत लिनुपर्याे। विश्वासको मत आउँदैन।
अविश्वास प्रस्ताव राखे भने पनि अर्को प्रधानमन्त्री को भन्ने पनि पहिल्यै पेश गर्नुपर्ने होला। गज्याङमज्याङ व्यवस्था छ नि !
त्यही भएर हामीले भनेका थियौँ– अदालतले झगडियाको मुद्दा मात्र मिलायो, राजनीति त उसले मिलाउन सक्नेवाला थिएन। संसद्को गणित त मिलाउन सक्नेवाला थिएन। पार्टीहरुको झगडामा उसले प्रवेश गर्ने कुरा भएन। त्यसको निकास त ताजा जनादेश हो। को जित्छ, को हार्छ, कसलाई जनताले जिताउँछन् कसलाई पछार्छन्, त्यो जनताको कुरा हो।
कांग्रेसले माओवादी र जसपालाई साथमा लिएर सरकार बनाउँदैन ?
जसपालाई त कांग्रेसले साथमा लेला तर पुष्पकमल दाहालमाथि कांग्रेसले साह्रै भरोसा राख्ला भन्ने लाग्दैन।
माओवादीलाई कांग्रेसले विश्वास नगर्नुको कारण चाहिँ के ?
चुनावमा तालमेल गर्ने कुरा गर्छ, चुनाव सिद्धिएको भोलिपल्ट कोसित आलोपालोको लिखत गर्न पुग्छ। अविश्वसनीय तत्वका रुपमा माओवादी देखा पर्याे। एउटा निश्चित भिजन, मिशन, निरन्तरतासहितको पार्टी नै भएन नि !
सबैभन्दा सहज बाटो तपाईंले पनि भोट हालेको माओवादीकै समर्थन जुटाउनु हो नि !
त्यो त उहाँहरुको पनि रुचिको कुरा हो नि त ! एक हातले ताली बज्छ र ?
समर्थन त प्रधानमन्त्री केपी ओलीलाई चाहिएको छ हैन ?
समर्थन के केपी ओलीलाई मात्र चाहिएको छ र ? एमालेभन्दा कमजोरलाई त झन् समर्थन चाहिएला नि ! एमालेभन्दा त तीन गुणा तल छ माओवादी। उसलाई त झन् समर्थन चाहिएला नि ! कांग्रेससँग त माओवादीको झन् छेउटुप्पै मिल्दैन, के समर्थन ?
मैले सबलाई प्रधानमन्त्री बनाएँ भन्छन् प्रचण्ड। पहिलोपल्ट प्रचण्डलाई ‘भित्ते राष्ट्रपति’ जस्तै बन्नबाट जोगाउन त प्रधानमन्त्री बनाएको एमालेले होइन ? वास्तविक प्रधानमन्त्री त एमालेकै निर्णयले बनेका हुन् त उनी। कांग्रेसले त चुनाव सकिएको चार महिनासम्म हल्लाएर राखिदिएको थियो, सबैलाई थाहा छ। त्यसो भएपछि त्यो माओवादीको पनि खुशीको कुरा हो।
मैले मतदातालाई कुनै अपमान गरिनँ। माओवादी ‘डिक्लाइनिङ’ (ओरालो लागेको) छ किनभने त्यो छ महिनामा एउटा नाम हुन्छ। सात महिनापछि अर्को नाम हुन्छ त्यसको। के–के हुन्छ के–के ? कसैले बुझेकै छैन। पानी आकारको पार्टी हो– माओवादी। जुन गिलासमा राख्यो, सोही आकारको हुन्छ।
त्यसो भए अब चुनाव कहिले हुन्छ त, कात्तिक–मंसिरमै हुन्छ कि कांग्रेसको रुचि अनुसार अर्को चैत–बैशाखमा ?
मेरो विचारमा त ०७९ बैशाखमा त स्थानीय तहको चुनाव हुन्छ। संसद् र स्थानीय चुनाव सँगै हुँदैन। त्यो व्यावहारिक हुँदैन।
आमचुनाव र स्थानीय चुनाव एकैचोटी गर्न मिल्दै मिल्दैन। पार्टी त तिनै हुन्। एउटा सांसद्को ढ्वाङ बोकेर गएको हुन्छ, अर्कोलाई वडा अध्यक्ष नजिती हुँदैन। त्यो मिल्दै मिल्दैन। त्यो कुरामा कुनै पनि पार्टीले सहमति जनाउलान् भन्ने मलाई लाग्दैन।
आम चुनाव र स्थानीय चुनाव चाहिँ एकैचोटी हुँदैन। आम चुनाव पहिला हुने ‘खतरा’ एकदमै टड्कारो छ। त्यो खतरा होइन, सौभाग्य हो।
मंसीरमै हो कि बैशाखमा हुन्छ त आमचुनाव ?
त्यो चाहिँ केपी ओलीको हातमा छैन, अरु पार्टीको हातमा छ। तीनवटा पार्टी मिलेर केपी ओलीलाई सत्ताबाहिर राखे भने ओलीले चाहेर पनि चुनाव गर्नसक्ने कुरा रहेन।
अनि केपी ओलीलाई हटाउन पनि नसक्ने, उनलाई विश्वासको मत पनि दिन नसक्ने। अल्पमतमा पार्न सक्ने अनि अर्को प्रधानमन्त्री बनाउन सकेनन् भने त हुने चुनावै हो नि !
त्यो त केपी ओलीले गराउनै पर्यो। बेवारिसे छाड्न मिल्दैन। हारिन्छ भनेर चुनाव नगराउने होइन, जितिन्छ भनेर मिनेट–मिनेटमै चुनाव गराउन पनि मिल्दैन। त्यसको त राजनीतिक प्रक्रिया छ। चुनाव त के र ! मंसिरमा नभए अर्को डेढ वर्षपछि हुन्छ।
अनि चुनाव गराउँदा ओली सरकारमै कांग्रेस, जसपालगायतका दल सहभागी भएर हुन्छ कि एमालेको एकल पार्टी सरकारले चुनाव गराउँछ ?
चुनाव कहिले हुन्छ, त्यस आधारमा मात्र भन्न सकिन्छ। मिलेर पनि हुनसक्छ, बाहिर रहेर पनि हुनसक्छ, त्यो म अहिले भन्न सक्दिनँ।
चुनाव त केपी ओलीको एकल सरकारले गराउनुपर्यो नि ! कति अवधि हुन्छ र ? छ महिनाभित्र गराइसक्नुपर्छ।
उनीहरुले विश्वास झिके, अविश्वास प्रकट गरे तर अर्को प्रधानमन्त्री बनाउन सकेनन् र विश्वासको मत पनि प्राप्त भएनन् भने त चुनावै घोषणा गरिदिनुपर्यो।
चुनाव घोषणा गरेको छ महिनामा न नीति–कार्यक्रम न बजेट ? चुनावबाट कोही आतङ्कित हुनुपर्ने कारणै छैन। यति धेरै खुल्ला समाज छ। नयाँ पुस्ता राजनीतिमा सकारात्मक हस्तक्षेप गर्न तम्तयार भएर बसेको छ।
त्यहाँ कसले लटरपटर गर्न सक्छ र ? पहिलाको जस्तो मतपत्र च्यात्ने, मोजामा लुकाउने, चपाउने निल्ने, त्यसैलाई फेरि न्यायाधीशले मैले देखेको थिइनँ भन्ने अनि त्यसैले तक्मा पाउने त करिब–करिब अन्त्य हुँदै जान्छ।
निर्वाचन भनेको त एकातिर राज्यको संयन्त्र हुन्छ, अर्कोतिर पर्यवेक्षकहरु हुन्छन्। अर्कातिर नागरिक समाज हुन्छ। ‘सिभिल सोसाइटी’मा नौटङ्कीवाला पनि हुन्छन् फेरि– ताकपरे चारचारे, लालतारे भिरेर पनि हिँड्ने, मन नपरेपछि त्यो अर्को गर्दै हिँड्ने। त्यो बेग्लै हो। वास्तविक पनि हुन्छन् कोही। त्योभन्दा पनि जनता नै छ नि निर्णायक हो। उसैले फैसला गरिदिन्छ।
१०–११ लाख त बिल्कुल नयाँ ‘टिनएजर’ १८–२० वर्षका युवायुवती मतदाता थपिएका छन्। यिनले गर्दैनन्, चमत्कार ?
माओवादी चाहिँ कांग्रेस वा एमालेसँग गठबन्धन हुने संभावना नभई चुनावामा जान नचाहेको हो भन्ने पनि छन्, के लाग्छ तपाईंलाई ?
उहाँहरुले ठूलो भाग खान पार्टी फुटाएको हो। चाहिने–नचाहिने जम्मै निहुँ खोजेर हिँडेको हो। कसको निर्देशनमा, कसको आदेशमा वा स्वविवेकमा केमा गर्नुभो ? त्यो उहाँहरुले भोग्नुहोस्। अब माओवादीको यात्रा त ठिमीतिरको हो, संसद्तिरको होइन। प्रचण्ड फेरि प्रधानमन्त्री भएर सिंहदरबारमा पुग्नुहोला भन्ने अहिलेको अवस्थामा मलाई चाहिँ लाग्दैन। छुट्टै लडे त लाग्दैन।
अब कोसित लाग्ने भन्ने उहाँको कुरा हो। उहाँको कति सीट आउँछ र भन्या ? उहाँ (प्रचण्ड) आफैँ त कुन क्षेत्र हो, टुंगो छैन।