पुनःनिर्मित घरमा संरचना विस्तारका लागि कार्यविधि तयार

File photo
File photo

भूकम्पपछि पुनःनिर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ। यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहत् अन्तरक्रिया गरिएको छ। 

कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनःनिर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिबीच अन्तरक्रिया भएको हो। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा कार्यविधि तयार पारेको हो।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रविन्दु स्थानीय तहलाई बनाउनुपर्ने उल्लेख गरे। सम्बन्धित केन्द्रीय निकायले मेरुदण्डका रूपमा काम गर्नुपर्ने उनले बताए।

मूलघरको क्रमशः विस्तार मूलतः ग्रामीण क्षेत्रमा संस्कृति नै रहेको उल्लेख गर्दै ज्ञवालीले थपिएको हिस्सा पनि भूकम्प प्रतिरोधी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माणमा अग्रसरता लिइएको जानकारी दिए। 

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका बलियो घर कार्यक्रम व्यवस्थापक रञ्जन ढुङ्गेलले मस्यौदा कार्यविधि तथा १० बुँदे पुस्तिकाका बारेमा प्रस्तुतीकरण दिए। सो प्रस्तुतिमाथि  प्राधिकरणका कार्यकारी समिति सदस्य डा हरिराम पराजुली, न्यूजिल्याण्डमा बसोबास गर्ने विज्ञ जितेन्द्र बोथरा र भारतका विज्ञ विवेक रावलले टिप्पणी गरेका थिए। रासस
 

प्रकाशित मिति: : 2021-03-23 07:34:00

प्रतिकृया दिनुहोस्