प्रचण्डको व्यवहारप्रति सूर्य थापाको टिप्पणी : 'निराशाको शिकार बनेकाहरु आत्महत्या गर्न समेत पछि पर्दैनन्'

पछिल्लो समय नेकपा एमाले र माओवादी केन्द्रबीच खुबै रस्साकस्सी चलिरहेको छ।

हालै मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सार्वजनिक समारोहमा बोलेको अभिव्यक्ति माथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टिप्पणी गरेका छन्। थापाले प्रचण्डलाई प्रश्नहरु तेर्साएर चुनौतीसमेत दिएका छन्।

उनले प्रचण्डको अभिव्यक्तिमाथि गरेको टिप्पणी यस्तो छः 

''एउटा भनाइ चर्चित छ-
रिसाएको बिरालोले खाबाे चिथाेर्छ!

पुष्पकमल दाहालकाे मनाेदशा क्रमशः बिथाेलिएर पूर्वाग्रह र द्वेषकाे दलदलमा यसरी भासिएकाे छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनाेदशा प्रकट हुने गर्छ!

धेरै पहिले एकजना मनाेविद्ले भनेकाे सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र  निराशाकाे सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन्। प्रचण्डलाई संभवत: यही प्रकारकाे समस्याले ग्रस्त पारिरहेकाे छ कि!

विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिककाे जीवनलीला समाप्त गर्दा, नेपालका भाैतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर  देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पाेषित गरेर कहाँकाे पावनभूमिमा सुरक्षित गरेकाे थियाे? नाेयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गाेरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बाेलाउने गर्नुभएको थियाे? र, १२ बुँदे समझदारी कहाँ भएको थियाे? 

उहाँले कसकाे सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकाेपार्जन गर्नुभएकाे थियाे? नेपालका विद्राेही नेता कहाँ र कसकाे पाेल्टामा पालितपाेषित र सुरक्षित थियाे ९.५ बर्षसम्म? कहाँ कस्ताे कायलनामा कागज गरेर त्यस्ताे सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियाे महाशयलाई?

आज धेरै बकबक नगरेर ऐनामा आफ्नाे अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्याे हाेला कि? 
आज जनताले कसरी लिने गरेका छन्? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ? राम्रोसँग हेक्का राखेर लज्जाबाेध गर्नु श्रेयस्कर हाेला! 
तथ्यहीन र दुराशयपूर्ण आराेप र गालीगलाेज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन।''

प्रकाशित मिति: : 2021-03-22 09:54:00

प्रतिकृया दिनुहोस्