संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन÷निरीक्षण गरेका छन्।
अनुगमनमा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि सहभागी थिए।
पर्यटनमन्त्री ढकालले अनुगमनका क्रममा देखिएका कमजोरी सुधारका लागि सात दिनको समय दिँदै पुनः अनुगमनमा आउने बताएका छन्।
मन्त्री ढकालले विमानस्थलको पुनःनिर्माणको काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए। उनले भने, 'हाम्रो मान्छे कति जिम्मेवार छन् भन्ने कुरा विमानस्थलको श्रम कार्यालय हेरेर देखिन्छ। सरसफाइमा त्यति जिम्मेवारी देखिएन। सुरक्षा जाँचको नजिकै पान खाएर थुकेको छ। विमानस्थल प्रमुखले पनि निरन्तर अनुगमन गरेर काम गराउनुप¥यो। कर्मचारीको काम सेवाग्राहीलाई सेवा दिने र मन जित्ने हो। राम्रो गर्नुस्।'
पर्यटनमन्त्री ढकालले विमानस्थलको अवस्था भद्रगोल बनाएर भत्ता माग्न नआउन अनुरोध पनि गरे। उनले नेपालको विमानस्थल हेरेर विदेशी विमानस्थलसँग तुलना गर्न मिल्ने बनाउन निर्देशन दिनुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए। रासस