बाँकेमा सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

बाँकेमा आठ महिनाको अवधिमा दुर्घटनामा परी ५० जनाले ज्यान गुमाएका छन्। चालु आर्थिक वर्षको श्रावणदेखि फागुन मसान्तसम्म सवारी दुर्घटनमा परी ५० जनाले ज्यान गुमाएका छन्।

जिल्ला ट्राफिक कार्यालय कोहलपुर, बाँकेले सवारी दुर्घटनामा परी मानिसहरुको अकालमा ज्यान जाने जनाएको छ।

चालु आ.व.को श्रावण महिनामा ६ वटा सवारी दुर्घटनामा परेका थिए। तीमध्ये दुई जना गम्भीर र ३ जना सामान्य घाइते भए। श्रावण महिनामा ६ जनाको मृत्यु भएको थियो।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीका अनुसार भाद्र महिनामा २० वटा सवारी दुर्घटनामा परेकोमा १४ जना गम्भीर र ११ जना सामान्य घाइते भएका थिए।

भाद्र महिनामा ५ जनाको मृत्यु भएको थियो। दुर्घटनाकै कारण ७ जनाको मृत्यु भएको असोज महिनामा जम्मा १९ वटा सवारी दुर्घटनामा परेको उनको भनाइ छ। उक्त महिनामा १ जना गम्भीर र १४ जना सामान्य घाइते भएका थिए।

यस्तै कार्तिक महिनामा १२ वटा सवारी दुर्घटना भएकोमा ९ जनाको मृत्यु भयो भने दुर्घटनामा परी ४ जना गम्भीर र ३ जना सामान्य घाइते भएका थिए।

यसैगरी मंसिर महिनामा १५ वटा सवारी दुर्घटनामा परेका थिए।  दुर्घटनामा परी ५ जनाको मृत्यु भएका थियाे। ११ जना गम्भीर र ५ जना सामान्य घाइते भए।

१० वटा सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष महिनामा १० जना गम्भीर र  १ जना सामान्य घाइते भएका थिए।

माघ महिनामा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको थियो। उक्त महिनामा १३ वटा सवारी दुर्घटनामा परेकोमा ३ जना गम्भीर र १८ जना सामान्य घाइते भएको ट्राफिक प्रमुख भण्डारीले जानकारी दिएका हुन्।

फागुन महिनामा १२ वटा सवारी दुर्घटना भएकोमा ९ जनाको मृत्यु भयो भने ८ जना गम्भीर र १९ जना सामान्य घाइते भए।

ट्राफिक प्रमुख भण्डारी सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिइएको बताउँछन्।

उनका अनुसार बाँकेमा सवारी दुर्घटनाको प्रमुख कारण चालकहरुको लापरबाहीले भएकाे छ।

यस्तै मानिसहरुले सुरक्षित रुपमा सडकमा यात्रा गर्न नजान्दा र ट्राफिक नियम पालना नगर्दा पनि दुर्घटना हुने गरेको छ।

दुर्घटना न्यूनीकरणको लागि दैनिक सचेतनाका साथै माइकिङ पनि गर्ने गरिएको उनले बताए।  चालु आर्थिक वर्षमा मात्रै १ हजार ६ सय ३५ जना  चालक तथा परिचालक र विद्यार्थीहरुलाई जनचेतनामुलक कार्यक्रम मार्फत सन्देश प्रवाह गरिएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-03-21 12:31:00

प्रतिकृया दिनुहोस्