५०० महिलालाई रोजगार दिने उद्देश्यले सुरु भयो पूजा सामग्री उद्योग

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी सभापति कल्पना गौलीले माँ अम्बे पूजा सामग्री उद्योग सञ्चालनमा ल्याएकी छन्। \

जिल्लाका महिलालाई रोजगारी प्रदान गर्दै उद्यमशील बनाउने उद्देश्यसहित गौलीले व्यास नगरपालिका–२ कालिकामार्गमा उक्त उद्योग सञ्चालनमा ल्याएकी हुन्।

उद्योगबाट ८५ महिलाले रोजगारी पाएको गौलीले जानकारी दिए। उनका अनुसार दुनाटपरी, बाँधेको धुप, सातथरि काठको दाउरा, पोते, डोरी, टीकालगायतका सामग्री उत्पादनका लागि ती महिलालाई रोजगारी दिइएको छ।

“निकट भविष्यमा नै तामा, चरेश, चाँदी र माटोबाट निर्माण गरिने सामग्री पनि उत्पादन गर्ने लक्ष्य छ”, गौलीले भनिन्।

उक्त उद्योगबाट ५०० महिलालाई रोजगारी प्रदान गर्ने उद्देश्य राखिएको उनले बताईन्। दमौली बजारका विभिन्न आमा समूहले उत्पादन गरेका दुना टपरी उक्त उद्योगले खरिद गर्ने गरेको छ। हाल बजारमा दुना टपरीको राम्रो माग भए पनि स्थानीय सरकारका तर्फबाट भने यसमा सहयोग नभएको गौलीको गुनासो छ। 

प्रकाशित मिति: : 2021-03-14 07:52:00

प्रतिकृया दिनुहोस्