बाहिरी चक्रपथको आयोजना कार्यान्वयन गर्न माग

जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ। जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ। 

काठमाडौँ उपत्यकाको समग्र यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको जिसस प्रमुख गेलालले जानकारी दिए।

सभाले मेलम्ची खानेपानी आयोजनाबाट निकट भविष्यमा वितरण हुन लागेको खानेपानी भक्तपुर जिल्लाको सबै स्थानीय निकायमा वितरण गर्न सम्बधित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। 

त्यसैगरी सभाले अनुगमन कार्यविधि २०७५ पहिलो संशोधन स्वीकृत गरेकोे छ भने भक्तपुर जिल्लाको नदी खानी क्षेत्रबाट नदी तथा खानीजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्रीवितरण प्रक्रियाको अनुगमन, नियमनसम्बन्धी कार्यविधिलाई सभाले अनुमोदन गरेको छ।

सभाले आव २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट स्वीकृत गर्नुका साथै कार्यालयमा रहेका जिन्सी मालसामान मिनाहा र लिलामका लागि नियमानुसार प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ। रासस

प्रकाशित मिति: : 2021-03-13 11:38:00

प्रतिकृया दिनुहोस्