धुलिखेल-सिन्धुली-बर्दिवास सडक मर्मत हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’ समेत अघि बढेको छ। 

चालु आवमा झण्डै १०० किलोमिटर लम्बाइमा मर्मत भइरहेको धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाले जनाएको छ। यो सडकमा पटके वा नियमित मर्मत गत वर्षहरुमा पनि आवश्यकतानुसार भइरहेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए। उनले भने, “सडकको तह नै थप्ने गरी र ठूलो क्षेत्रफलमा मर्मतको काम यही वर्षदेखि शुरु भएको हो।”

मर्मतको काम भइरहेका अधिकांश स्थानमा नेपाली रकमबाट नै काम भइरहेको आयोजनाले जनाएको छ। सडक बोर्ड नेपालले बर्सेनि सडकबाट उठाएको दस्तुरबाट सडक मर्मतका लागि आवश्यक रकम छुट्ट्याउँदै आएको छ। त्यसबाहेक यो वर्ष विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत अघि बढाइएको प्रमुख भाटले बताए। 

बिपी राजमार्गअन्तर्गतको नेपालथोक–धुलिखेल खण्डमा पाँच किमी ‘ओभरले’ सकिएको छ। सिन्धुलीको खुर्कोट चियाबारी खण्डमा चालु आवमा ३५ किमी सडक ‘ओभरले’ गर्ने लक्ष्य लिइएको थियो। त्योमध्ये हालसम्म २५ किमी सडक मर्मत सकिएर १० किमी सडकमा काम भइरहेको प्रमुख भाटले जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-03-12 07:03:00

प्रतिकृया दिनुहोस्