वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले उत्पादन र रोजगारी सिर्जना गर्न रु तीन अर्ब बजेट विनियोजन गरेको बताएका छन्।
गोदावरी नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा मन्त्री फुयाँलले मुलुकको गरिबी र बेरोजगारीको समस्या समाधान गर्न कृषि विकास बैंकसँग आफूहरुले सम्झौता गरिसकेको बताए। उत्पादनको काम गर्न ऋण आवश्यक परेका व्यक्तिले बैंकमा सम्पर्क गरी निर्यातमुखी कामलाई अघि बढाउन उनले आग्रह गरे।
ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य चेतनाथ सञ्जेलले गोदावरीमा ‘एक घर, एक धारा’ को अभियान ल्याएपनि अझै पूर्णरुपमा पालना हुन नसकेको दुःखेसो गरे।
यसैगरी अर्का सदस्य लालकुमारी पुनले ललितपुरका सुगम क्षेत्रमा मात्रै नभई दुर्गम क्षेत्रमा पनि समानताका हिसाबले विकासका गतिलाई अघि बढाउन जरुरी रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए। रासस