विवेकशील साझाले थाल्यो राजनीतिक दलहरूसँग सहकार्यको पहल 

विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ।

विवेकशील साझाले विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने निष्कर्ष निकालेको बताएको छ।

बैठकमा सहभागी विभिन्न १५ वटा राजनीतिक दलका नेतृत्वले देशको विद्यमान राजनीतिक परिस्थिति, चुनौती र त्यसको सामना गर्नका लागि एक ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता माथि विस्तृत छलफल गरेको साझा पार्टीले बताएको छ।

बैठकमा विवेकशील साझा पार्टी, नेपाली काँग्रेस (बिपी), समाजवादी काँग्रेस नेपाल, जनजागरण पार्टी नेपाल, युवा शक्ति पार्टी, मौलिक जरो किलो पार्टी, नेपालवाद पार्टी, न्यु पिपुल्स पार्टी, आधुनिक नेपाल पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी, गान्धीवादी पार्टी नेपाल, प्रगतिशील पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टीका नेतृत्वको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘छलफल र संवादको क्रमलाई अघि बढाउनुपर्ने कुरामा सहभागी सबै  पार्टीहरूको सहमति थियो।’ 

प्रकाशित मिति: : 2021-03-09 16:43:00

प्रतिकृया दिनुहोस्