सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ।

तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट शुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को सङ्ज्ञा दिएका छन्।

झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई विसं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए। त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ।

हरेक वर्ष फागुन २१ का दिन सुखानीमा शहीदको प्रतिमामा माल्र्यापण गर्दै आएका कम्युनिष्ट नेताहरु शहीदको सपना पूरा गर्ने सङ्कल्पबाट च्युत हुने गरेको आरोप लाग्दै आएको छ।

समाज बदल्न आन्दोलनमा हिँडेका नेता सत्ता सुख र सुविधामा अल्मलिएर आफैँ बदलिएको तीखो दोषारोपण हुने गरेको छ।

झापा विद्रोहको गर्भबाट जन्मिएको तत्कालीन नेकपा (एमाले)बाट केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल गरी तीन प्रधानमन्त्री बनिसकेका छन्।

नेकपा (एमाले)बाटै मुलुकको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी बनिसकेकी छन्। विद्रोहका अगुवामध्येका ओली वर्तमान अवस्थामा प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष नै छन्। विद्रोहकालीन नेता सिपी मैनाली, राधाकृष्ण मैनाली र सीता खड्का मन्त्री भइसक्नुभयो भने नरेश खरेल, मनकुमार गौतम, सीता खड्का, गौरा प्रसाईँलगायत दर्जनौँले सांसद बन्ने मौका पाइसके।

पञ्चायती एकदलीय शासनका बेला छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनमा नयाँ ऊर्जा भर्दै एकीकृत बनाउने श्रेय पाएको झापा विद्रोहका अगुवाहरु यतिबेला फेरि विभाजनको भुमरीबाट गुज्रिरहेका छन्। विसं २०७४ को आम चुनावमा दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेर सत्तामा पुगेको नेकपा विभाजनको ‘अहिले कि भरे’को अवस्थामा छ।

प्रकाशित मिति: : 2021-03-05 08:30:00

प्रतिकृया दिनुहोस्