ज्येष्ठ नागरिकसँग स्थापना दिवस  

Symbolic photo

नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले दोस्रो स्थापना दिवस ज्येष्ठ नागरिकसँग मनाएको छ। 

शाखाले मङ्गलबार वृद्धाश्रममा फलफूल वितरण गरी दोस्रो स्थापना दिवस मनाएको हो। 

नवलपरासी जिल्ला दुई भागमा विभाजन भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा २०७५ फागुन १८ गते नेपाल पत्रकार महासङ्घ नवलपुर गठन गरिएको थियो। 

विसं २०७५ फागुन १८ गते स्थापना भएको शाखाले दोस्रो स्थापना दिवसको अवसर पारी कावासोतीको पिठौलीमा रहेको लक्ष्मीनारायण बृद्धाश्रममा फलफूल वितरण गरेको थियो। 

दिवसका अवसरमा महासङ्घ नवलपुरका अध्यक्ष होमराज रानाभाटले श्रमजीवी पत्रकारको मुद्दामा महासङ्घ सधैँ एक भएर अघि बढ्ने बताए।

 श्रमजीवी पत्रकारका मुद्दालाई मूर्तरुप दिन सबैको साथ र एकता आवश्यक भएको भन्दै दोस्रो स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सबैलाई मिलोस् भन्दै उनले शुभकामना व्यक्त गरे। 

स्थापना दिवसको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष दीपक भट्टराईले स्थापना दिवसको दिन वृद्धाश्रममा फलफूल वितरण गरिनुले समाजमा सकारात्मक कार्यको थालनी भएको बताए। 

सबै खाले नागरिकको मुद्दामा कलम चलाउने पत्रकारले आगामी दिनमा पनि समाज परिवर्तनका लागि कलम चलाउनेमा आफू विश्वस्त रहेको बताए। 

महासङ्घ नवलपुर शाखाले आफ्नो पहिलो स्थापना दिवस २०७६ फागुन १८ मा मध्यविन्दु–१ को शान्ति आधारभूत विद्यालय सेतापानीमा आवासीय रुपमा अध्ययन गरिरहेका अनाथ बालबालिकाका लागि खाद्यान्न सहयोग गरी मनाएको थियो। 

कोभिड–१९ विरुद्धको खोप सुरक्षित

कोभिड–१९ विरुद्धको खोप लगाउँदा कोही पनि डराउन नपर्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताएका छन्।

 मङ्गलबार देवचुली नगरपालिकाको दलदलेमा आयोजित ‘स्वास्थ्य समृद्धि र सुरक्षाःकोभिड–१९ खोपले गर्छ रक्षा’ विषयक अभिमुखीकरण तथा पत्रकार अन्तक्र्रिया कार्यक्रममा चापागाईंले ढुक्क भएर कोभिडविरुद्धको खोप लगाउन आग्रह गरे।

 नवलपुरमा आगामी फागुन २३ गतेदेखि शुरु हुने दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि सम्पूर्णलाई सुरक्षितका साथ भ्याक्सिन लगाउन चापागाईंले आग्रह गरे। 

कोभिड–१९ विरुद्धको खोपको विषयमा विभिन्न किसिमका भ्रम फैलिए पनि वास्तवमा कोरोना खोपले कुनै प्रकारको नकारात्मक असर नगर्ने चापागाईंले बताए। 

खोप लगाएपश्चात सामान्य किसिमको लक्षण देखिए पनि डराउनुपर्ने अवस्था नरहेकाले सम्पूर्णलाई खोप लगाउन उहाँले आग्रह गरे। 

अन्तक्र्रियामा मध्यविन्दु जिल्ला अस्पताल डण्डाका डा सविता लम्सालले कोरोनाविरुद्धको खोप लगाएपछि हुनसक्ने सम्भावित घटना (एइएफआई) व्यवस्थापन कसरी गर्ने, कोरोना खोप लगाउनु कतिको उपयुक्त हो जस्ता विभिन्न विषयमा सहजीकरण गरेका थिए।

क्रिकेट प्रतियोगिता शुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकास्थित दलदलेमा ड्युज लिग प्रतियोगिता शुरु भएको छ। 

देवचुली युथ क्लबले स्वर्गीय मुकेश सापकोटाको स्मृतिमा पहिलोपटक ‘टि–ट्वान्टी ड्युज लिग प्रतियोगिता–२०७७’ शुरु गरेको हो।

प्रतियोगिताको देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले बलिङ तथा नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले ब्याटिङ गरेर शुभारम्भ गरेका थिए।

कुल आठ समूह सहभागी भएको प्रतियोगितामा पहिलो हुने समूहलाई रु ५० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र तथा दोस्रो हुने समूहलाई रु २५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ।

 प्रतियोगिताको म्यान अफ दि सिरिजलाई रु १० हजार, पदक र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

मङ्गलबार भएको प्रतियोगिताको पहिलो खेलमा शिव माविले जीत निकालेको छ। आयोजक देवचुली युथ क्लबविरुद्ध शिव माविले ९८ रनले जीत निकालेको हो। 

निर्धारित २० ओभरको खेलमा शिव माविले ११७ रन जोडेको थियो । शिव माविको लागि शरद तिवारीले सर्वाधिक २४ रन जोडे।

जवाफी ब्याटिङमा उत्रिएको आयोजक देवचुली युथ क्लबले सबै विकेट गुमाउँदै १९ रनमात्रै जोड्न सफल रह्यो। देवचुलीका लागि प्रनिश अर्यालले १३ रनको पारी खेले पनि उक्त पारी जित निकाल्न सम्भव भएन। 

प्रतियोगिताअन्तर्गत मङ्गलबार नै भएको दोस्रो खेलमा रक इलाभेन स्याङ्जा विजयी भएको छ। 

आजको खेल ग्लोबल इन्टरफेस इस्टर्न र वेस्टर्न क्रिकेट एकेडेमी र दोस्रो खेल गोर्खा वारियर्स र बालबिकास क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-03-03 14:10:00

प्रतिकृया दिनुहोस्