मेरो आगमनपछि गुण्डाहरूले काठमाडौं छोडेका छन् : काठमाडौं प्रहरी प्रमुख एसएसपी सिंह (भिडियोसहित)

केही समस्या पर्यो ९८५१२०५५५५ मा फोन गर्नु

डिल्ली पाण्डे

काठमाडाै‌ं

काठमाडौँकाे इज्जत मुलुकको भविस्यसँग जोडिएको हुन्छ। काठमाडौं देशको राजधानी भएका कारण ७७ जिल्लाका मानिस यहाँ बसोबास गर्छन। त्यसैले राजधानीको सुरक्षा नेपाल प्रहरीको लागि जहिले पनि ठूलो चुनौतीको विषय हो। 

त्यसैले काठमाडौं नेपाल प्रहरीको जिम्मेवारी यस्तो व्यक्तिलाई दिने गरिन्छ, जो अनुभवी र कार्य क्षमतामा निपूर्ण होस्। यस्तै, एक दक्ष प्रहरी अधिकृतले हालै राजधानी काठमाडौंको नेतृत्व सम्हाल्ने मौका पाएका छन्। 

ती अधिकृत हुन्, एसएसपी अशोक सिंह। प्रहरी निरीक्षकदेखि सुरु भएको दुई दशक लामो जागिरे यात्रामा उनले निडर प्रहरीको छवी बनाएका छन्।

कोरोना संक्रमणका कारण थला परेको राजधानी बिस्तारै तंग्रिने तयारीमा छ। ब्यापार  तथा व्यवसायले गतिलिने प्रयास गरिरहेका छन्। तर, देशमा जारी राजनीतिक गतिरोधका कारण अवस्था जटिल बन्दै गइरहेको छ।

यस्तो अवस्थामा सुरक्षा संवेदनशीलता कसले नबुझेको होला? राजनीतिक वातावरण दूर्षित भइरहेको अहिलेको अवस्थामा एसएसपी सिंहका लागि राजधानीको सुरक्षा व्यवस्था चुस्त–दुरुस्त राख्नु पक्कै पनि सहज हुने कुरा भएन। तर पनि उनी राजधानीको सड्कहरूमा भिडिरहेका छन्, आफ्नो निडर व्यक्तित्वलाई साथमा लिएर।  

कोरोना संक्रमणकै बीच उनले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए। सुरक्षा जिम्मेवारी पाउने वित्तिकै उनी काठमाडौंको १४ वटै प्रहरी वृत्तको निरीक्षणमा निस्किए। त्यहाँ उनले नागरिकले पाइरहेका सुरक्षाको बारेमा जानकारी लिए। र, आफ्नो संगठन प्रमुखले सार्वजनिक गरेको १४ बुँद्धे निर्देशिकालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न भिडे।  

बीएल नेपाली सेवासँगको कुराकानीमा एसएसपी सिंहले भने, ‘मैले सम्पूर्ण प्रहरी कर्मचारीलाई भनेको छु– समस्या परेपछि मात्र नागरिकहरू प्रहरी कार्यालयमा धाउने गर्छन। त्यसैले समस्या बोकेर आउने नागरिकलाई चित्त बुझ्ने गरि न्याय दिनु।’

पछिल्लो समय काठमाडौंको जनसंख्या नियन्त्रण बाहिर गइसकेको छ। अर्थात देश विदेशबाट आउनेहरू यही खाल्टोमा थुप्रिएका छन्। यसले सुरक्षा व्यवस्थामा थप जटिलता थपिएको छ। यी चुनौतीसँग कसरी भिड्ने? यही गृह कार्यमा अहिले जुटेका छन्, सिंह। उनलाई थाहा छ–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिले काठमाडौंमा कुनै पनि बेला जुनसुकै घटना हुनसक्छ। यसका लागि उनले ठूलै गृह कार्य गर्नुपर्ने हुन्छ। सिंह भन्छन्, ‘म यसअघि पनि काठमाडौंका विभिन्न प्रहरी युनिटमा बसेर काम गरेको व्यक्ति हुँ। विगतको अनुभवका कारण अहिले काम गर्न सजिलो भएको छ।’

काठमाडौँकाे टोल तथा गल्लीहरूमा, शहरका मुख्य गौडाहरूमा प्रत्येक दिन प्रधानमन्त्रीको समर्थन वा विरोधमा नारा तथा जुलुस लाग्दै आइरहेको छ। ठूला–ठूला सभा तथा सम्मेलनले स्थितिलाई झनै तनावपूर्ण बनाएको छ। 

‘भूतले खाना खाने बेला’ एसएसपी सिंह काठमाडौंको कमाण्ड सम्हाल्न आएको भन्दै उनकै साथीहरूले प्रतिक्रिया नदिएका होइनन्। तर,उनी यो चुनौतीलाई स्विकार गरेर कमाण्डमा खटिएका हुन्। ‘राष्ट्र सेवकको कर्तब्य नै हो। जनताको दुःखलाई आफ्नो दुःख सम्झेर कमाण्डमा खटिने। यसैको पालना अहिले गरिरहेको छु,’ सिंह भन्छन्। 

सिंहको आगमनपछि गुण्डा भागाभाग 

यतिबेला काठमाडौंमा हुने गुण्डागर्दीको तौर–तरिकामा परिवर्तन आएको छ। कुनै बेला नाम चलेका गुण्डाहरू अहिले कोही नेता बनेका छन्, कोही ठेकेदार। पद तथा व्यवसायले जो जहाँ पुगेपनि उनीहरूले आफ्ना सहयोगी खटाएर नपत्याउँदो तरिकाले आफ्नो धन्दा चलाइरहेका हुन्छन्। 
तर, एसएसपी सिंहको आगमनपछि ती गुण्डाको पनि भागाभाग हुन थालेको छ। काठमाडौं यतिबेला राजनीतिक रूपमा अराजक बनेपनि गुण्डागर्दी प्रायः ठप्पै छ
‘काठमाडौंमा हुने गुण्डागर्दी बारे मलाई राम्रो ज्ञान छ। त्यो कुरा गुण्डागर्दीमा संलग्नलाई पनि प्रस्ट थाहा छ,’ सिहले भने, ‘गुण्डागर्दी गर्ने कसैलाई छोड्दिन भन्ने सबैलाई हेक्का भएको विषय हो। त्यसैले गुण्डाहरूले काठमाडौं छाडेका छन्।’ गुण्डा नाइकेहरू काठमाडौंको कमाण्डमा सिंहको आगमनपछि उपत्यका छोडेर बाहिर त गएका छन्। तर, आफ्ना सहयोगी परिचालन गरेर काम गर्ने गरेका छन्। ‘हामीलाई यो विषयको पनि जानकारी छ। तर, त्यसलाई निरुत्साही पार्न टोली खटाएका छौं,’ उनी भन्छन्। 

तीन तहमा गुण्डाको सूचि 

गुण्डागर्दीमा लागेकाहरुको विगत हेर्दै प्रहरीले तीन तहको सूचि बनाएको छ। यस विषयलाई स्पस्ट पार्दै सिंहले बीएल नेपाली सेवासँग भने, ‘ विगतमा खुङ्खार अपराधी भनेर चिनिएका गुण्डाहरू अहिले केही ठेकेदार बनेका छन्। केही नेता त केही समाज सेवाको नाममा हिँडिरहेका छन्। काम जे  भए पनि उनीहरू विभिन्न आवरणमा आफ्नो धन्दा भित्रभित्रै चलाइरहेका छन्।’ विगतमा उनीहरू मैदानमा आफै भिड्थे। हिजोआज सहयोगी खटाएर विभिन्न धन्दामा लिप्त छन्। ‘त्यसैले उनीहरूलाई तीन तहमा विभाजन गरेर निगरानी गरिरहेका छौं।

विगतमा कारवाही भोगेर बाहिर आएकालाई निगरानीमा राखेका छौं,’ उनले भने, ‘फिल्डमा खटिने टोले गुण्डाको पनि विवरण राखेका छौं। उनीहरूले केही गर्नासाथ सेकेन्डमा पक्राउ पर्नेछन्।’ उनी पाखुरा देखाएर पैसा असुल्ने दिन गएको सन्देश सबैलाई दिन चाहन्छन्। ‘एक सुका कसैले असुल्न खोज्यो भने प्रहरी कहाँ निर्धक्क उजुरी गरे हुन्छ। हामी त्यस्ता गुण्डालाई छोड्दैनौं। गुण्डाहरूले खिँसिक्क केही गरे, बाँकी रहदैनन्’ उनले सबैलाई सन्देश दिन खोजे। 

व्यवसाय सहज ढंगबाट चलाउन सहयोग गर्ने 

कोरोनापछि बन्द यातायात खुल्न थालेको छ। खुलेका व्यवसायलाई सहजढंगले सुचारु गराउनेतर्फ आफूहरू लागेको उनको भनाई छ।
‘सुरक्षा व्यवस्थाका लागि हामी २४ सै घण्टा तैनाथ छौं,’ एसएसपी सिंहको भनाई छ। 
जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीले काठमाडौंभित्रका रात्रीकालीन व्यवसायदेखि होटल तथा रेष्टुरेन्ट चल्ने वातावरण सिर्जना गरेको छ। 

नाकामा सुरक्षा कडाई

काठमाडौं उपत्यका भित्रिने सबैभन्दा ठूलो नाका हो, नागढुङ्गा। दैनिक हजारौ सवारी साधन आवत–जावत हुने नागढुङ्गालाई सुरक्षित राख्न प्रहरीलाई हम्मेहम्मे नै पर्छ। सिंहको आगमनपछि नागढुङ्गाबाट कुनै पनि अपराधी छिर्न नदिन र लागुऔषध हातहतियार तथा अवैध सामाग्री भित्रिन नदिन प्रहरीले विशेष चेकजाँच थालेको छ।

‘काठमाडौं भित्रिने नाकामा हामीले ब्यापक सुरक्षा परिचालन गरेका छौं। काठमाडौं भित्रिने ठूलो नाका नागढुङ्गा, बल्खु लगायतका नाकामा हामीले सुरक्षालाई ब्यापक बनाएका छौं। चेकजाँच बढाएका छौ,’ उनले भने, ‘हामीले मात्र नभएर तालिम प्राप्त कुकुरद्धारा पनि चेकजाँच गछौं। कुनै पनि अवैध सामाग्रीका साथै लागुऔषध, हातहतियार भित्रिन नदिन सम्बन्धित बिदाका तालिम प्राप्त कुकुरद्धारा चेकजाँच गछौं। फलस्वरुप ठूलो परिमाणमा लागुऔषध पनि बरामद भएको छ।’ 

काठमाडौंमा लागुऔषध भित्रिने मुख्य नाका थानकोटलाई मानिन्छ। अहिले काठमाडौंमा लागुऔषधको अवस्था भयाभह छ। ‘अहिले हामीले त्यसलाई पनि मुख्य प्राथमिकतामा राखेका छौं। त्यसैले अवैध घरेलु मदिरा पनि ठूलो परिमाणमा बरामद गरेका छौं,’ स्वास्थ्यलाई प्रत्यक्ष असरपर्ने खालको मदिरा काठमाडौं भित्र्याउने गरेको थाहा पाएपछि हामीले त्यसलाई पुर्ण रूपमा प्रतिबन्द लगाउने अभियानमा छौं’ं, एसएसपी सिंहले भने।
थानकोट नाकाबाटै करोडौं स्रोत नखुलेको रकम पनि बरामद भएको थियो। 

नागरिकले सुरक्षा महसुस गरेका छन् 

नागरिकलाई दिने सेवामा प्रहरी सदैव तत्पर रहेको एसएसपी सिंहको भनाई छ। आफ्नो मोबाईल नम्बर दिँदै एसएसपी सिहले भने, ‘आपत परे सिधै फोन गर्नु। सुरक्षा भन्ने कुरा संसारमा कतै पनि सत प्रतिशत हँुदैन। तर, मैलै काठमाडौंमा सत प्रतिशत सुरक्षा महसुस हुनेगरी सुरक्षा प्रदान गर्दै आएको छु।’ उनी हरेक टोल र घरमा प्रहरी जान सम्भव नहुने बताउँदै भन्छन्, ‘कुनै क्षेत्रमा केही भयो भने, हामीलाई खबर गर्नु। मेरो नम्बर ९८५१२०५५५५ मा सिंधै फोन गर्नु। समस्या समाधान हुन्छ।’ 

चन्दा आंतक प्रहरीले सहदैन 

केही वर्ष देशमा राजनीतिक समस्या समाधान भएको जस्तै थियो। तर पछिल्लो समय फेरी देशमा राजनीतिक फेरबदल भएको छ। यस्तो बेला कुनै पनि दल तीनका भातृ संगठनले जबरजस्ती चन्दा मागेमा प्रहरीले कारवाही गर्ने जनाएको छ। ‘कसैले डर त्रास देखाएर चन्दा माग्यो, हामीलाई भन्नु। जबरजस्ती चन्दा माग्ने अधिकार कसैलाई छैन। कसैले धम्क्याएर चन्दा माग्छ भने त्यो गैरकानुनी हो। तपाईको सूचना गोप्य रहन्छ। कसैले चन्दा माग्यो भने प्रहरीलाई भन्नु, गैरकानुनी काम गर्नेलाई प्रहरीले बाँकी राख्दैन,’ उनले भने। 

आचरण विपरित काम गर्ने, जो कोही कार्यवाहीको दायरामा पर्छन 

आर्थिक अनियमितता, आफ्नालाई काँखा च्याप्ने र काम गर्ने अधिकारीलाई काम गर्न नदिने जस्ता कार्यले केही समय बदनाम भएको प्रहरी संगठन फेरी आफ्नो लयमा फर्कन थालेको छ। 

शैलेश थापा क्षेत्रीले प्रहरी संगठनको जिम्मेवार सम्हालेसँगै प्रहरी संगठन यस्ता आरोपबाट बच्ने चरणमा छ।
राजनीतिक तथा संगठनका उच्च ब्यक्तिको आँडमा प्रहरी कर्मचारीलेनै बदमासी गरेका केही बिगत छन्। तर शैलेस थापा क्षेत्रीको कार्यकाल सुरु भएपछि यी र यस्ता समस्या केही हल भएका छन्। 

‘राज्यले दिएको जिम्मेवारी र संगठन प्रमुखले दिएको खाकालाई ध्यानमा राखेर हामीले आम नागरिकलाई सुरक्षा प्रदान गर्ने हो। एसएसपी सिंहले भने, ‘नागरिकको सुरक्षा र संगठनको नीति नियमविरूद्ध कसैले कदम चाल्छ भने त्यस्ता ब्यक्ति कार्यवाहीको दायरामा पर्नेछन्।’ 
 

प्रकाशित मिति: : 2021-02-22 18:07:00

प्रतिकृया दिनुहोस्