पत्रकार महासंघ युरोप शाखाको अधिवेशन सम्पन्न 

बिएल संवाददाता

स्विजरल्याण्ड

नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन फागुन ८ गते(फेब्रुअरी २०) मा सम्पन्न भएको छ।

बिहीबार शाखाका कार्यबाहक अध्यक्ष डिल्ली अम्माईको अध्यक्षतामा सम्पन्न अधिवेशनले संगठनको प्रतिबेदन संसोधन सहित पारित गरेको हो।

शाखाका महासचिव योगेन्द्र मिलन छन्त्यालले प्रस्ताव गरेको संगठनात्मक प्रतिवेदनलाई पारित गरेपछि सो को बोधार्थ केन्द्रलाई पठाउने निर्णय समेत गरेको छ। 

पत्रकार महासंघ केन्द्रका बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलको समुपस्थितिमा सम्पन्न अधिवेशनमा महासंघका पुर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार तारानाथ दाहाल ले "जहाँ अधिकतर लेख्ने पत्रकारहरुको उपस्थिति छ त्यो मंच नै आधिकारिक हुने भन्दै बिधानको सम्मान र केन्द्रको बैधानिक निर्देशनलाई सम्मान तथा पालना गर्न सबै पत्रकारहरुलाई निर्देशन दिए। 

त्यस्तै पत्रकार महासंघ केन्द्रका बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले युरोप शाखालाई तीन बुदामा निर्देशन दिंदै एकताको अधिकतम प्रयास ,विधिको पालना र केन्द्रको निर्देशनको सम्मानलाई गाइड लाइन बनाएर आफ्ना गतिबिधि अगाडी बढाउँन बिशेष आग्रह गरे।

त्यस्तै पत्रकार महासंघ युरोप शाखाका संस्थापक सल्लाहकार तथा बरिष्ठ पत्रकार भागिरथ योगीले आगामी दिनमा एउटै समितिको निर्माण गरेर जाने परिस्थितिको निर्माण गरेर जानुको बिकल्प नरहेको बताउदै बरु त्यसकोलागि आबस्यक परे आंफुले पनि सहजकर्ताको भूमिका निर्वाह गर्ने आस्वासन दिए। 

त्यस्तै बरिष्ठ पत्रकार तथा राजनैतिक विश्लेषक नरेन्द्र जंग पिटरले बिचारको केन्द्र जर्मन,प्रब्रिद्धि र औद्योगिक बिकासको केन्द्र बेलायत, इतिहाँसको केन्द्र इटाली र सांस्कृतिक केन्द्र फ्रान्ससहित युरोपमा बसेका पत्रकारहरुले नेपालका पत्रकारलाई सिकाउनु पर्ने बताउदै सकारात्मक सोचको बिकास गर्न अनुरोध गरेका छन्। 

संस्थापक उपाध्यक्ष तथा बरिष्ठ पत्रकार लक्ष्मण देवकोटाले स्वागत मन्तव्यको क्रममा संगठन स्थापना गर्दाको स्प्रिटलाई समात्न सकियो भने सबै खालका बिबादहरु समाधान गर्न सकिने बताउदै अत्याधिक संस्थापकहरु लगायत युरोपका धेरै पत्रकारको समुपस्थितिमा केन्द्रिय उपाध्यक्षले प्रतिनिधित्व गरेको यो नै आधिकारिक अधिवेशन भएको तर्क गरे। 

बरिष्ठ पत्रकार अनुराधा पौडेलले सम्पूर्ण अतिथिहरुलाई कार्यक्रममा सहभागी भएकोमा धन्यबाद दिनुभएको थियो। त्यसै क्रममा उनले सदस्यतामा विभेद गर्ने, फरक मत राख्ने साथीहरुलाई न्याक्ने र आफ्ना वरिपरिकालाई मात्र सदस्यता दिने प्रवृतिको अन्त्य गरेमा अलग अलग अधिवेशन गर्नु पर्ने स्थिति नआउने बताए।  

अधिवेशनमा किरात समाजबाट माकुना राई,जन प्रगतिशील मोर्चा पोर्तुगलबाट पूर्ण बिक,एनआरएनए युरोप संयोजक नारायण आचार्य,जन प्रगतिशील मोर्चा  बेल्जियमबाट मेख गुरुङ,नेपाली समाज बेल्जियमबाट नेत्र मगर,जन सम्पर्क समिति बेल्जियमकि सभापति सिता सापकोटा,जन प्रगतिशील मोर्चा युरोपका संयोजक बिष्णु भुजेल लगायतले सबै पत्रकारहरुलाई मिलेर जाने आग्रह गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए।

प्रकाशित मिति: : 2021-02-21 07:53:00

प्रतिकृया दिनुहोस्