प्रदीप–सरस्वतीको प्रेमको निशानी

अक्षर काका

काठमाडाैं

जनमतसंग्रहपश्चात् पश्चिमाञ्चल भूखण्डमा कम्युनिस्ट आन्दोलन डढेलो झैँ फैलिइरहेको थियो । विद्रोहको आगोको लप्काले तत्कालीन सत्तामा अकन्टक राज्यसत्ता चलाउने सपना खाक बनाउने भय झाँगिदो थियो । र त, आस्था भिन्न भएकै आधारमा गिरफ्तार गर्ने, कम्युनिस्ट नेता–कार्यकर्तालाई सक्दो प्रताडना दिने कार्यलाई आँधीमय वेगमा बढाउँदै लगेको थियो ।

प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलनलाई भाग्य र भविष्य ठान्दै भूमिगत बाटो रोजिसकेका थिए । समाजका दुःख, पीडा, अभाव, उत्पीडन, दमनलाई बदल्ने साध्य कम्युनिस्ट आन्दोलन हो भन्ने बुझाइ बलशाली बन्दै थियो । इच्छाइएको बाटो हिँड्नु रहरै भइगयो । भूमिगत आन्दोलनचाहिँ रहर थिएन, त्यो एउटा निर्मम बाध्यता थियो । 

४० को दशकतिर आइपुग्दा प्रदीपलाई कम्युनिस्ट आन्दोलन र बैंसको धूपले एकसाथ छपक्क छोपेको थियो । मनभित्र रुमानी सपनाको ज्योति जाग्दो थियो । त्यसकै आलोकमा जिन्दगीलाई आन्दोलनतिर डोर्‍याउँदै थिए । 

आन्दोलन कहिलेतिर उत्कर्षमा पुग्छ, त्यसको कुनै टुंगो थिएन । भूमिगत आन्दोलन कष्टकर जिन्दगीको पर्याय नै हो । साथै, त्यो एउटा अनिश्चित यात्रा पनि थियो । मर्ने, मारिने टुंगो थिएन । कति नेता–कार्यकर्ता जेलभित्र चिसो स्याँठ खाइरहेका थिए । कतिलाई दमनले निलेको थियो । कतिलाई आन्दोलनले खाक तुल्याएको थियो ।

साहित्य–सिर्जना र आन्दोलनको चिराक एकसाथ बोकेर हिँडेका थिए, प्रदीप । एक्कासि चल्ने दमनको हुरीले दियालो निभाइदिने हो कि भनेर मनभित्र भयको हुन्डरी नचल्ने होइन ।

र त, उनले मनमनै रहरको डोरी बाटेका थिए । सहयात्रीको खोजी गरेका थिए । यस्तो सहयात्री, जसले आन्दोलनको चिराक एकसाथ बोकोस् र त्यसको आभाले जीवन र समाज एकसाथ झलमल्ल होस् ।

तिनताक माले आन्दोलनले एउटा बुझाइ तय गरेको थियो । अझ भनौँ, यसलाई ‘नीति’कै रूपमा अघि बढाएको थियो । यो संस्कारलाई आन्दोनलको अंगको रूपमा ग्रहण गरेको थियो । पार्टीमा आबद्ध नेता–कार्यकर्ताहरूको विचार मिल्दो जोडी होस् । कम्युनिस्ट आन्दोलनको मर्मअनुकूल उनीहरू प्रणयधागोमा बाँधियून् ।

प्रकाशित मिति: : 2021-02-14 16:58:00

प्रतिकृया दिनुहोस्