प्रहरीका पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ हजार दरबन्दी रिक्त, भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर

नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ ।

नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ । बढुवाबाट पूर्ति गरिने ४० पदमा बढुवा गर्न प्रहरी नेतृत्वलाई हम्मे भएको छ । किनभने डेढ सयभन्दा धेरै सइ बढुवाका दाबेदार छन्, जो १५ वर्षभन्दा ‘जेठा’ सइ हुन् । ३० जना त १७ वर्षदेखि सइमा कार्यरत छन् । यसपटकको बढुवामा डेढ सयमध्ये ४० जना मात्र पर्नेछन्, अरूले बढुवाका लागि अझै कम्तीमा दुई–तीन वर्षसम्म कुुर्नुपर्नेछ । 

प्रहरीको जागिर अवधि ३० वर्ष हुन्छ । त्यसमा आधाभन्दा धेरै अवधि एउटै पदमा बिताउनुपर्ने बाध्यता प्रहरीका कनिष्ठ अधिकृतहरूको छ । जसले उनीहरूमा नैराश्यता मात्र बढाएको छैन, प्रहरी सेवामै नकारात्मक असरसमेत परेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, ‘प्रहरीको सइबाट इन्स्पेक्टर बढुवामा समस्या छ, यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पटक–पटक छलफल भएको छ । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।’ 

प्रहरीका कनिष्ठ अधिकृत अर्थात् असइ र सइ संगठनका खम्बा मानिन्छन् । अपराध अनुसन्धानदेखि शान्ति–सुरक्षाका काममा सधैँ अग्रपंक्तिमा नेतृत्व गरेर उनीहरू नै पुग्छन् । तर, वृत्तिविकासमा रहेको समस्याले उनीहरूलाई प्रहरी संगठनप्रति नै वितृष्णाको अवस्था ल्याएको छ । प्रहरीमा चार हजार दुई सय ९६ दरबन्दी भएका सइका समस्या समाधानका लागि प्रहरी नेतृत्वबाट पहल हुन सकेको छैन । इन्स्पेक्टरका रिक्त पदमा ५० प्रतिशत भर्नाबाट र ५० प्रतिशत बढुवाबाट पूर्ति गरिए सइको बढुवा जाम खोल्न केही सहज हुने बहस प्रहरीमा हुँदै आएको छ । 

‘म सइ बन्दा मेरो छोरा भर्खर जन्मेका थियो । अहिले ऊ १५ वर्ष भयो । तर, म सइको सइ नै छु,’ नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कर्मचारीको वृद्धिविकासप्रति असन्तुष्टि पोख्दै एक सइले भने, ‘मलाई हेर्ने छोराका नजर कस्तो बन्यो भने बुबाको जागिर भनेकै सइ रहेछ । किनकि उसले मेरो काँधमा दुईवटा ताराबाहेक देख्नै पाएको छैन ।’

प्रकाशित मिति: : 2021-02-07 07:28:00

प्रतिकृया दिनुहोस्