प्रहरीबाट किन कुटिन्छन् यौनिक अल्पसंख्यक ?

परिवार र समाजबाट अपहेलित हुँदै आएका यौनिक अल्पसंख्यकहरू राज्यका निकायबाट सहयोग पाउनुको सट्टा झन् दुव्र्यवहार खेप्दै आएका छन्

महाराजगन्जमा बिहीबार राति प्रहरीले तीनजना यौनिक अल्पसंख्यकमाथि कुटपिट गर्‍यो । त्यही राति काठमाडौंको नयाँ बसपार्कमा पनि १३ जना यौनिक अल्पसंख्यकलाई कुटपिट गरेको उनीहरू बताउँछन् ।  प्रहरीले उनीहरूलाई कुटपिट मात्रै गरेन, नियन्त्रणमा पनि लिएको छ । अहिले उनीहरू महानगरीय प्रहरी वृत्त महाराजगन्ज, बालाजु, गौशाला र सोह्रखुट्टेमा राखिएका छन् । प्रहरीले भने अवैध गतिविधिमा संलग्न रहेको आरोप लागेपछि सोधपुछ गर्न जाँदा आक्रमण गरेकाले नियन्त्रणमा लिएको जवाफ दिएको छ । 

यो त बिहीबार रातिको घटना भयो । यौनिक अल्पसंख्यक समायरा श्रेष्ठ दिउँसै पनि दुव्र्यवहार भोग्दै आएको बताउँछन् । ‘साँझतिर ठमेलमा हिँड्दा कसैले होच्याएर बोल्यो । म यौन व्यवसायी होइन भन्दा उल्टै दुव्र्यवहार ग र्‍यो,’ समायराले केही दिनअघिको घटना सुनाए, ‘म उजुरी दिन पुलिसकहाँ गएँ । तर, पुलिसले त उल्टै तिमीहरू आफैँ त्यसरी हिँड्छौ भनेर मलाई नै गलत देखायो ।’ प्रहरी र प्रशासनले उल्टै दुव्र्यवहार गर्ने गरेको उनी बताउँछन् । 

यस्तै पीडा छ, रुपालीको । केही समयअघि विदेश जानका लागि पासपोर्ट बनाउन राहदानी विभाग पुगेकी रुपालीलाई ‘फेक डकुमेन्ट’ भनेर फर्काइयो । ‘महिलाले किन पुरुषको सर्टिफिकेट लिएर आएको भन्दै त्यहाँका कर्मचारीले हप्काए । नक्कली डकुमेन्ट भनेर कामै गरिदिएनन्,’ उनी भन्छिन् । 

उनी नीलहिरा समाजमा प्रवेश गरेको ६ वर्ष भयो । परिवारले अझै उनलाई स्वीकार गरेको छैन । यता राज्यले पनि पहिचानको सम्मान नगरिदिँदा समस्यामा परेको उनी बताउँछिन् । ‘हामीलाई अरू नै ग्रहबाट आएको जस्तो व्यवहार गर्छन्,’ उनी भन्छिन् । उपल्लो तहमा रहेका प्रहरी कर्मचारीको सम्बोधनसमेत उनीहरूलाई बिझाउने खालको हुने गरेको छ । अपमानजनक शब्द खेप्नुपरेको उनी बताउँछिन् ।

अर्का यौनिक अल्पसंख्यक सुदीप गौतमलाई ड्राइभिङ लाइसेन्स लिन जानै दकस लागिरहेको छ । उनको नागरिकताको परिचय महिलाको छ । ‘पहिचानको आधारमा नागरिकता पाएको भए र राज्यले नीति कार्यान्वयन तहमा कडाइ गरेको भए यस्तो समस्या भोग्नुपर्ने थिएन,’ उनी सुनाउँछन् । २९ वर्षीय सुदीपले आफ्नो पहिचान खुलाएको १० वर्ष भयो । 

प्रकाशित मिति: : 2021-01-25 07:48:00

प्रतिकृया दिनुहोस्