बैंकिङ समूहमा तेजी आउँदा नेप्से सूचक ४१.२२ अंकले बढ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

सबै रेकर्ड तोड्दै अघि बढिरहेको सेयर बजार पहिलो पटक २२ सय विन्दु भन्दा माथि बन्द भएको छ । 

आइतबार बजार नाप्ने नेप्से सूचक ४१.२२ अंकले बढेर इतिहासकै उच्च २२३५.७० विन्दुमा बन्द भएको हो । सेयर खरिदबिक्री रकममा पनि तेजी आएको छ । 

गत साताको बुधबार नेप्से २१७८.५७ विन्दुमा पुग्दै नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। त्यसको भोलिपल्ट नै नेप्सेले सो रेकर्ड तोड्दै २१९४.४९ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। 

त्यसैगरी, सो रेकर्डलाई आज आइतबार तोडेर २२३५.७२ विन्दुमा पुगि लगातार तेस्रो कारोबार दिन 'अलटाइम हाई' रेकर्ड बनाउन सफल भएको हो।

साताको पहिलो कारोबार दिन नेप्से १.८८ प्रतिशत अर्थात ४१.२४ अंक बढेर २२३५.७२ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स १.७१ प्रतिशत अर्थात ७.२१ अंक बढेर ४२८.४३ विन्दुमा पुगेको छ। 

त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०३ अंक बढेको हो।

नेप्सेसँगै पछिल्ला दिनहरुमा कारोबार रकम पनि बढ्दै गएको छ। गत बुधबार ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा गत बिहीबार ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। 

त्यसैगरी, यस दिन २०७ कम्पनीको ५७ हजार १७१ पटकको कारोबारमा ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। सोमध्ये विकास बैंकको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत बढेको छ भने बैंकिङ्गको ३.५९ प्रतिशत बढेको छ। 

त्यसैगरी, व्यापार उपसमूहको परिसूचक ३.१७ प्रतिशत, वित्तको २.१५ प्रतिशत, होटलको १.०८ प्रतिशत र हाइड्रोपावरको १ प्रतिशत बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक भने यस दिन ०.१२ प्रतिशत घटेको छ।

यस दिन वाणिज्य बैंकहरुको उच्च कारोबार भएको छ। कारोबार रकमका आधारमा शीर्ष १० कम्पनीहरुको सूचीमा ७ वाणिज्य बैंक रहेका छन्। 

यस दिन प्रभु बैंकको सर्वाधिक ४० करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-01-10 15:50:00

प्रतिकृया दिनुहोस्