नेप्से र कारोबार रकम दुवैमा नयाँ रेकर्ड, एक दर्जनभन्दा बढी कम्पनीको कारोबार सर्किट लेभलमा

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा साताको पहिलो दिन आइतवार नयाँ रौनक देखिएको छ । नेप्से सूचकले २४ सय विन्दुको मनोवैज्ञानिक रेखालाई क्रस गरिदिएको छ । नेप्से सूचकसँगै खरिदबिक्री रकममा पनि नयाँ तरंग पैदा भएको छ । 

आइतबार नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२४.८४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु (हाइ क्लोजिङ्ग पोइन्ट) हो। 

त्यसैगरी, यस दिन हालसम्मकै उच्च रकमको कारोबार भएको छ। यस दिन २०७ कम्पनीको ७९ हजार ४९८ पटकको कारोबारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१ करोड ९३ लाख ७९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएको छ । 

६६ करोड ८२ लाखसहित खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा भने नेपाल पुनर्बिमा कम्पनी र नेपाल टेलिकम परेका छन् । 

आइतवार सेन्सेटिभ इण्डेक्स ६.४७ अंक बढेर ४५२.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अंक बढेको छ।

आइतवार नेप्सेले नयाँ उचाई कायम गरेसँगै एक दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यसैगरी, गुराँस लघुवित्त, नागरिक लगानी कोष लगायतका कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ६६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.६९ प्रतिशत बढेको हो। गत साता सर्वाधिक बढेको व्यापार उपसमूहको परिसूचक भने यस दिन २.४७ प्रतिशत घटेको छ।

प्रकाशित मिति: : 2021-01-24 16:02:00

प्रतिकृया दिनुहोस्