साताको अन्तिम दिन सेयर बजारमा थप उत्साह, नेप्सेसूचक ३१.८७ अंकले बढेर २३७४.६४ विन्दुमा

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा साताको अन्तिम दिन बिहीबार बजारमा थप उत्साह बढेको छ । नेप्से सूचक ३१.८७ अंकले बढेर २३७४.६४ विन्दुमा पुगेको छ ।

विशेषगरी बिमा, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुमा अधिक चमक देखिएको छ । त्यसमध्ये पनि निर्जीवन बीमा कम्पनीहरुमा नियाँ तरंग छाएको छ । लामो समयदेखि तुलनात्मक रुपमा निर्जीवन बीमा कम्पनीहरु सुस्त रहेका थिए ।

जीवन बीमा समूहमा  पनि वृद्धि भएको छ । फाइनान्स र माइक्रोफाइनान्सको पनि मूल्य बढेको छ । नेप्से सूचकसँगै बजारलाई खरिदबिक्री रकमले पनि निकै साथ दिएको छ । 
यसअघि खरिदबिक्री रकम केही सुस्त भएकामा अहिले फेरि त्यसमा नयाँ उत्साह आएको छ । २०९ कम्पनीको ७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 
१ करोड ८१ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । वाणिज्य बैंक र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ५४०.२३ अंक (४.९४%) ले वृद्धि भएको छ ।

हाइड्रोपावर, फाइनान्स, जीवन बिमा समूह लगायतमा पनि आकर्षक सुधार देखिएको छ । करिब २ दर्जन कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको ५३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 दोस्रो स्थानमा नेको इन्सुरेन्स र तेस्रोमा पुनर्बिमा कम्पनी परेका छन् । नेकोको २६ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: : 2021-01-21 17:11:00

प्रतिकृया दिनुहोस्