राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ। 

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन संसद भवन नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने गरी आह्वान गरेकी हुन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूचि तयार गरेको छ।

सचिवालयका अनुसार बैठकको सुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ।

यसैबीच अध्यक्ष तिमिल्सिनाबाट जारी भएको राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेश हुने कार्यसूचि छ।

बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्ने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्ने सम्भावित कार्यसूचि छ।

स्वास्थ्य तथा जनससंख्या मन्त्री हृदयश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गर्ने संसद सचिवालयले जनाएको छ।

यस्तै प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी तथा प्रतिनिधिसभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र राष्ट्रियसभाका पूर्वसदस्यद्वय दीपकबहादुर गुरुङ र इन्द्रहाङ लीम्बुको निधनमा शोकप्रस्ताव प्रस्तुत हुने सभाका लागि तयार पारिएको सम्भावित कार्यसूचिमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-01-01 07:52:00

प्रतिकृया दिनुहोस्