प्रधानमन्त्रीको गृहनगर दमकमा डेढ अर्बको १८ तले भ्यु टावर बनेपछि छेउछाउमा यस्तो दृश्य देखिनेछ

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सरकारले डेढ अर्ब लगानीमा सय मिटर अग्लो भ्यु टावर बनाउँदै छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश १८ तले यो टावरको निर्माणले वरिपरिका सर्वसाधारणलाई भने हर्षभन्दा चिन्ता थपेको छ । 

भ्यु टावरको पश्चिमतिरको पर्खालसँगै जोडिएको टुकुरेबस्तीमा सय परिवार सुकुमबासीको बसोवास छ । ०२२ देखि त्यहाँ बसोवास गरिरहेका उनीहरूले अहिलेसम्म जग्गाधनी प्रमाण पुर्जा पाएका छैनन् । टावर बन्न थालेदेखि उनीहरूलाई त्यहाँबाट लखेटिने चिन्ताले मात्रै सताउँछ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै चासो देखाएको छैन । 

टुकुरेबस्तीकी ६५ वर्षीया भीमकुमारी विकले आँगनमै भ्यु टावर ठडिएपछि बस्तीबाटै हटाउँछ कि भन्ने चिन्ताले राति निद्रा पनि नलाग्ने बताइन् । यही बस्तीमा जीवनका पाँच दशक बिताइसकेकी उनले भोगचलन गरेको १२ कट्ठा जग्गाको फिल्डबुक भए पनि जग्गाधनी प्रमाणपुर्जा पाएकी छैनन् । ‘आँगनमा भ्यु टावर त बन्यो नि ! तर, हामीलाई हर्ष न विस्मात् ! जग्गा हुनेले जग्गाको भाउ पाए । उनीहरू धनी भए । हामी सुकुमबासीको के छ र !’ उनले भनिन्, ‘यहाँबाट पनि हटाउने रे भन्ने सुनेकी छु । यहाँबाट खेदायो भने यो उमेरमा कहाँ जानू ?’ 

प्रकाशित मिति: : 2020-12-27 11:41:00

प्रतिकृया दिनुहोस्