बकुल्लो र ब्युरोक्रेसी

गोरखापत्र

काठमाडाैं

भागवत खनाल

आचार्य चाणक्य भन्छन् ,“राजाले सबैभन्दा ज्यादा ध्यान कोषमा दिनुपर्दछ ।’’ ढुकुटी बलियो भयो भने राज्य बलियो हुन्छ । यही कोषको माध्यमबाट सत्ता सबल र सिमाना सुदृढ हुन्छ । शत्रुहरू परास्त हुन्छन् ।
कोष भरिलो राख्नका लागि कर उठाउन, सत्ता सबल राख्नका लागि प्रजामा राजभय उत्पन्न गराउन र शत्रुमाथि प्रताप कायम राख्नका निम्ति प्रभुत्व जमाउन कर्मचारीको आवश्यकता पर्दथ्यो । राज्यव्यवस्था सञ्चालन गर्न नभई नहुने तर सर्वाधिक आलोचित संस्था हो कर्मचारीतन्त्र । चाणक्यले भनेका छन्, कर्मचारीवर्गले राजकोषमा जम्मा गर्नुपर्ने रकम आफैँ हडप्न सक्छन् । उनले कर्मचारीले राजालाई झुक्याउन सक्ने अनेकौँ तरिकाको वर्णन गरेका छन् ।
कर्मचारीतन्त्र (ब्युरोक्रेसी) परापूर्वकालदेखि नै राज्यव्यवस्था सञ्चालनका लागि अपरिहार्य संस्थाको रूपमा रहँदै आएको छ । यो राजा र प्रजाका लागि नभई नहुने तर दुवैबाट नरुचाइएको संस्थाको रूपमा परिचित थियो । आज पनि जुनसुकै देशको सरकारलाई कर्मचारीतन्त्रको नियत र क्षमतामा आशङ्का छ । जनतामाझ यो तन्त्रप्रति आस्था र भरोसा जाग्न सकिरहेको छैन ।
ब्युरोक्रेसीको परम्परागत बनोट नै यसलाई शासक र जनता दुवैको नजरमा शङ्कास्पद बनाउने खालको छ । मुलुकको ढुकुटी र सम्पदाको साँचो यही संस्थाको हातमा हुन्छ । देशको खजानाको तालाकुन्जी कब्जा गरेर बसेको संयन्त्रसँग सरकार सतर्क र सशङ्कित हुने नै भयो । आज नवीन पद्धति कायम भएर कर्मचारीतन्त्रलाई जनताको सेवकको रूपमा परिभाषित गर्न थालिएको छ । परन्तु सयौँ वर्षदेखि संस्कृतिको रूप लिएको मनोविज्ञानमा परिवर्तन हुन समय लाग्दो रहेछ ।
प्राचीनकालदेखि नै राज्य व्यवस्थाले ब्यूरोक्रेसीलाई बकुल्लो जस्तो बनाउँदै आएको छ । बकुल्लो साधुको भेषमा रहेको कपटी हो । बकुल्लोको टाढासम्म देख्न र टिप्न मद्दत गर्ने लामो घाँटी हुन्छ । खुट्टा लामा हुन्छन् । बकुल्लो बाह्य रूप हेर्दा शुभ्र, शान्त, शालीन र सुकिलो देखिन्छ । जति सुन्दर, शान्त र विशाल भए तापनि यसको काम भनेको मौका पर्नासाथ माछा टिप्नु नै हो । बडो चलाख हुँदाहुँदै पनि यसको प्रशंसक र अनुयायी कोही हुँदैन । बकुल्लो हुनुको भाव शृङ््खलाबद्ध छ । ब्युरोक्रेसीको बकुल्लो राजनीति, कारिन्दाको बकुल्लो हाकिम र अचेल त पूरै कर्मचारीतन्त्रको बकुल्लो ट्रेड युनियन । कार्ल माक्र्सले ब्युरोक्रेसीको कटु आलोचना गरेका छन् । उनी भन्छन्, ब्युरोक्रेसी बडो चतु¥याइँपूर्वक आफ्नो वर्गको हितमा दत्तचित्त हुन्छ । माक्र्स यसलाई शोषक वर्गको हित रक्षा गर्न रचित परजीवी वर्ग मान्छन् ।
कर्मचारीतन्त्र समाज र सरकारबीचको सम्पर्कको कडी हो । सरकार कर्मचारीतन्त्रको माध्यमबाटै जनतामाझ प्रकट हुन्छ । यो सरकारको वैधानिकता र लोकप्रियता कायम गर्ने सूत्र पनि हो । कर्मचारीतन्त्र असल भएन भने राजनीतिले आफ्नो असल रूप देखाउन सक्दैन । राजनीतिले बकुल्लाको रूप परित्याग गर्ने हो भने ब्युरोक्रेसी समेत बकुल्लाको बिम्ब त्याग गर्न बाध्य हुनेछ । यो शृङ्खला टुटाउन सकियो भने अन्ततोगत्वा राष्ट्र र जनतालाई नै फाइदा हुनेछ ।

प्रकाशित मिति: : 2020-12-23 08:36:00

प्रतिकृया दिनुहोस्