नेपाललाई अहिले बढी भएको बिजुलीको व्यापार कसरी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । उत्पादित बिजुली बेच्न गरिएका केही छलफलसमेत निष्कर्षमा नपुगेपछि नेपालले गर्ने भनेको उर्जा व्यापार तत्काल नहुने देखिएको छ । यस वर्षको बर्षातमा धेरै बिजुली खेर फाल्नु परेपछि आगामी वर्षातमा बिजुली नफाल्न छिमेकी मुलुकसँग उर्जा व्यापार गर्न तम्सिएपनि ति मुलुकबाट ग्रिन सिंग्नल पाएको छैन । गत शुक्रबार मात्र भएको नेपाल भारतस्तरीय उर्जा सचिव बैठकले ठोस निर्णय दिन नसक्दा उर्जा व्यापार नै अन्यौलमा परेको हो । नेपालले भारतीय भूमि प्रयोग गरेर बंगलादेश पठाउनेतर्फ पनि चासो देखाएको छ । वर्षातमा निर्यात गर्ने र हिउँदमा आवश्यक पर्दा त्यही विद्युत आयात गर्ने गरी इनर्र्जी बैंकिङको अवधारणा नेपालले अघि सारेको छ ।
माथिल्लो तामाकोशीलगायत केही आयोजना निर्माण सम्पन्न हुँदा वर्षयामको विद्युत नेपाललाई बढी हुने भएकाले त्यसको व्यवस्थापनमा सकस परेको हो ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना वर्षातमा कति विद्युत खेर जान्छ भन्ने यकिन आँकडा नभएको बताउँछन् । विद्युत खेरभन्दा पनि रिजर्भमा रहेको भन्न उनले सुझाए । माथिल्लो तामाकोशीले विद्युत उत्पादन शुरु गरेपछि आन्तरिक उपभोगबाट बचत भएको बिजुली निर्यात गर्ने योजना प्राधिकरणले लिएको तिमल्सिनाको भनाइ छ । प्राधिकरणका अनुसार अहिले उर्जाको पिक डिमाण्ड १३२० मेगावाट रहेको छ भने २२ हजार ४ सय ४ मेगावाट घण्टा दिनभरको विद्युत माग छ । जसमा ७ हजार ९ सय ६६ मेगावाट आवर विद्युत प्राधिकरणका आयोजनाको छ भने स्वतन्त्र उर्जा उत्पादकहरुको ८ हजार १ सय १ मेगावाट घण्टा विद्युत रहेको छ । र, माग अनुसार नपुगेको ६ हजार ३ सय ३७ मेगावाट घण्टा आयात गरिएको छ । हिउँदमा नेपालले दैनिक ७० लाख युनिटसम्म विद्युत भारतबाट आयात गरिरहेको छ । नदीको बहावमा आधारित आयोजनाको संख्या धेरै भएकाले नेपाललाई वर्षामा उत्पादित बिजुली बढी भएर खेर जाने र हिउँदमा नपुगे आयातबाट आन्तरिक माग धान्नुपर्ने अवस्था छ ।