कोरोना कहरले याे वर्ष तलेजु भवानीको मन्दिर खुलेन

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोना कहरले सुनसान रह्याे।

तेह्रौं शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। 

दशैँको अघिल्लो दिन दिनभर खुला रहने मन्दिरमा करिब १ लाख भक्तजनले दर्शन गर्दै आएका थिए। 

तलेजु मन्दिरमा अरु ३ सय ६४ दिनमा दैनिक नित्य पूजा गरिएपनि १ दिन सर्वसाधारणको पूजाका लागि खोलिन्थ्यो। 

हनुमानढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी छन् भने काठमाडौंमा कर्माचार्य र जोशी मात्र छन्। 

छानेशैलीको प्राचिन मन्दिर वर्षमा १ पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्‍थे। बिगतमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लामदेखि अन्य व्यवस्थापनमा सहयोग गर्ने गर्‍थे। 

नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि काठमाडौं उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन्।

 महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति: : 2020-10-25 07:16:00

प्रतिकृया दिनुहोस्