शान्ता चाैधरीकाे काेराेना अनुभव: अस्पतालकाे आईसीयूमा निरीह भएर सास फेरिरहेँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी कोरोना भाइरस संक्रमणमुक्त भएकी छिन् । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनले  १९ औँ दिनमा जितेकी हुन्।

कोरोनालाई पराजित गरेकी चौधरीले पुनर्जीवन पाएको प्रतिक्रिया दिएकी छिन्। उनले पुरै १९ दिनको अस्पत्ताल बसाई र त्यसमा पनि अधिकांश समय आईसीयूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसकिने बताएकी छिन्।

यस्ताे छ शान्ताकाे काेराेना अनुभव

जोगिने जति नै कोशिस गर्दा पनि आखिर कोरोनाले आक्रमण गरिछाड्यो। पूरै १९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आईसीयूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न सकिँदैन। पहिलेदेखिका गम्भीर रोगहरुको कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ। 

पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकोले पनि बाँच्छु जस्तै लागेको थिइनँ। यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु। आज कोरोनाकाे रिपाेर्ट निगेटिभ आयो। लाग्यो मैले पुनर्जीवन पाएँ।

वीर अस्पतालका अति सघन उपचार कक्षको बेडमा बडो मुस्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसूस गर्थें। बाहिर हजारौं शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्यलाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वयका र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो। तर म हजारौ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसूस गर्थें। यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ।

अझै म डिस्चार्ज भएकी छैन। यसैबीचमा बाफ लिँदा तातो पानीले खुट्टा पोलेर अर्को असह्य पीडा थपिएको छ। त्यसैले कोरोनामुक्त भएपनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ।

मैले लाखलाख धन्यवाद दिनुपर्ने पार्टीका श्रध्देय कामरेडहरू हुनुहुन्छ। मेरा समर्थक, शुभचिन्तक र नातागोताहरू हुनुहुन्छ। उहाँहरूलाई अहिले एकमुष्ट धन्यवाद दिन्छु। 

वीर अस्पतालका सबै डाक्टरहरू, मेरो सेवामा अहोरात्र खटिने नर्सहरू र समस्त अस्पत्ताल परिवारप्रति म कृतज्ञ छु। उहाँहरुले मृत्यूको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभयाे। बेलाबेलामा हौसला दिइरहनु भयो। विशेष विशेष हेरचाह गर्नु भयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें। उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला। 

अन्तमाः सबै सबैमा धेरै आधार व्यक्त गर्न चाहन्छु। अस्पतालबाट विदा हुँदाको दिन फेरि लेखुँला। 

विजया दशमीको सबैमा शुभकामना दिन चाहन्छु। कसैका परिवार पनि यो समयमा अस्पताल बस्नु नपरोस्। अस्पताल खोज्दै हिड्नु नपरोस्। हामी सबैमा यो कोरोनारुपी महाशत्रुमाथि विजय प्राप्त गर्न शक्ति मिलोस्। धन्यवाद।

प्रकाशित मिति: : 2020-10-23 14:08:00

प्रतिकृया दिनुहोस्