केहिदिन अघि एक पेशागत समूहका दशजना सदस्यहरुको एउटा कोठामा ‘मिटिङ’ बस्यो। मिटिङ चलिरहँदा सहभागि दशमध्ये पाँचजनाले मास्क खोले। बाँकी पाँचमध्ये दुईजनाले बैठक अवधिभर नै मास्क खोलेनन्, अरु तीनजना केही दूरी कायम गरेर भिन्दै सोफामा बसे।
बैठक सकियो, सबै सहभागि घर फर्के। तीन दिन पछि एक–एक गरि बैठकका सहभागि बिरामी पर्न थाले। उनीहरुमा कोरोनाका लक्षण देखियो। पालैपालो दशजनाकै परीक्षण गरियो। बैठकमा रहँदा मास्क खोलेका पाँचजनालाई संक्रमण पुष्टि भयो। मास्क नखोलेका दुई र दूरी कायम गरेर भिन्दै बसेका तीन गरि पाँच जनालाई भने संक्रमण भएन।
पेशागत ती समुहका संक्रमित सदस्यहरु अहिले होम आइसोलेसनमा छन्। उनीहरु सबैको स्वास्थ्यमा सुधार भईरहेको छ। बैठकमा सहभागि उनीहरुको एउटै निश्कर्ष छ–एउटा कोठामा भएको छलफलमा सहभागि हुँदा मास्क खोल्नु कमजोरी रहेछ। मास्क खोल्ने त्यही हेलचेक्रयाँइले साथीहरुबीच नै संक्रमण फैलियो। बैठकमा सहभागि एकजना सदस्यले भने, ‘हुन त हामीले अनुसन्धान र क्लिनिकल परीक्षण गरेका होईनौ, तर, भीडभाडमा रहँदा मास्क खोल्नु भनेको जोखिम निम्त्याउनु रहेछ भन्ने निष्कर्ष निकालेका छौ। हामी एउटै पेशाका साथी थियौ, अनि निकटता ठान्यौ र मास्क पनि खोल्यौ, त्यो गर्नु हुने रहेनछ।’