हुम्ला सीमा विवाद: चिनियाँ अधिकारी भन्छन्, ‘निर्माण भएको भवन हाम्राे भूभागभित्र पर्छ’

चीनले हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरिएको र नेपालको भूमि नमिचेको दाबी गरेको छ।

नेपाली भूमिमा चीनले भवन बनाएको दाबीसहितको खबर बाहिरिएपछि चीनले उक्त दाबी गरेकाे हाे।
  
केही दिन अगाडि मात्रै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवनबहादुर शाहीको टोलीले उत्तरी छिमेकी चीनले हुम्लाको लोलुङजोङमा नेपाली भूमि मिचेर भौतिक संरचना निर्माण गरेको निष्कर्ष निकालेको थियाे।

तर बुराङका परराष्ट्र सम्बन्ध निर्देशक बाकीले नयाँ निर्माण गरिएको गाउँ बुराङ्ग काउन्टीको अलिमा रहेको दाबी गरेका छन्। उनले सो क्षेत्र चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका पर्ने जनाएका छन्।

‘गएको मे महिनामा भवनहरु निर्माण गर्नुभन्दा पहिला सेनाका अधिकारी, स्थानीय नापी अधिकारी र सर्वेक्षण अधिकारीले विस्तृत रुपमा अध्ययन तथा सर्वेक्षण गरेका थियाैं,’ उनले भनेका छन्, ‘सो सर्वेक्षणबाट चिनियाँ क्षेत्र नै रहेको पुष्टि भएपछि मात्रै भवन बनाइएको छ।’

निर्देशक बाकीले  नेपाली पक्षबाट सीमा यकिनमा केही कमजोरी भएको हुन सक्ने बताएका छन्। उनले सो नयाँ गाउँ निर्माणको काम अन्तिम चरणमा पुगेको पनि बताएका छन्।

उनले भनेका छन्, ‘निर्माण भएको भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ। सबैभन्दा नजिकको भवन दुई देशको सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ।सो नयाँ गाउँ निर्माणको काम अन्तिम चरणमा पुगेको छ।’

नेपाल सरकारले चीनबाट भूमि नमिचिएको बताए पनि हुम्लाका स्थानीय बासिन्दाले चीनले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताउँदै आएका छन्।

यता असोज १४ गते सिमकोटबाट सिमा अबलोकनका लागि गएका नेता शाहीको टोली नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि त्यहाँ चिनियाँहरुले नेपाली भूमीमै भवनहरु बनाएको पाएको उनले बताए।

शाहीले पिलर नम्बर ५ देखि १२ नम्बरसम्म ११ दिन लगाएर गरेको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा चीनले नेपाली भूभाग मिचेको बताएका छन्। 

उनले १२ नम्बर पिलर नयाँ बनाउनु, सीमा स्तम्भहरूमा फरक–फरक लिपि प्रयोग हुनु र स्थानीय बुढापाकाले नेपालको भूमि भनेका स्थानमा अहिले चीनले अतिक्रमण गरेको देखिनुलाई प्रमाण रहेकाे दाबी गरेका छन्।

यस्तै गप्पुदोचा र लोलुङजोङ क्षेत्र नेपालीहरूले चरिचरनका लागि प्रयोग गरेको ऐतिहासिक तथ्य समेतले चीनले नेपाली भूमि मिचेको प्रमाण रहेको निष्कर्ष निकालिएको छ।

यता नेपालतर्फको किट भन्ने स्थानमा रहेका सीमा स्तम्भहरू ५(१), ५(२) लाई तारबार गरी आफ्नो क्षेत्रमा राखेको पाइएको समेत उल्लेख गरिएको छ। त्यस्तै, पुरानो ५(२) नम्बरको जङ्गे स्तम्भ उखेलेर हाल एकलौटी रूपमा नयाँ बनाएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

चीनले आफ्नो दशगजा नियम विपरीत हिल्सामा रहेको ९(२) सीमा स्तम्भको बीच रेखामा तारबार तथा गेट निर्माण गरेको जनाइएकाे छ। जब कि नेपालले सीमास्तम्भभन्दा ३० मिटर टाढा आफ्नो गेट निर्माण गरेको छ।

किट भन्ने स्थानमा रहेका सीमा स्तम्भहरू क्रमशः ५(१), ५(२) लाई तारबार गरी आफ्नो क्षेत्रमा राखेको पाइयो भने पुरानो ५(२) जङ्गे स्तम्भ उखेली हाल एकलौटीरूपमा बनाएको नेपाली पक्षकाे दाबी छ।

गप्पुदोचामा रहेको पानीढलोलाई आधार मान्दै नेपाल र चीन सरकारले सन् १९८२ मा पारित गरेको नक्सामा रहेको नेपाली भूभाग अहिले चीनले मिचेको देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

अहिले चीनले निर्माण गरेको भौतिक संरचनाभन्दा उत्तरमा रहेको ग्यापुदोसामा चिनियाँ उच्च अधिकारीले समेत नेपालको भूमि भनेर स्वीकार गरेर बाटो निर्माण भएकोमा अहिले चीनले कब्जा गरेको अध्ययन टोलीले निष्कर्ष छ।
 

प्रकाशित मिति: : 2020-10-17 09:39:00
# .

प्रतिकृया दिनुहोस्