ती दुई व्यक्ति जसले मेरो जीवनमा सबभन्दा धेरे प्रभाव पारे

सत्यमोहन जोशी (प्रस्तुतिः गिरीश गिरी)

सेतोपाटी

काठमाडाैं
सत्यमोहन जोशी
सत्यमोहन जोशी

सत्यमोहन जोशीको आत्मकथाः 

 

सय वर्षभन्दा लामो जीवनकालमा मैले थुप्रै महत्वपूर्ण मानिससँग नजिकिने मौका पाएँ। राष्ट्रप्रमुखदेखि सरकार प्रमुखसम्म, पण्डितदेखि महात्मासम्म, कविदेखि प्राज्ञसम्म, उच्च कर्मचारीदेखि कुटनीतिज्ञसम्म। 

लामो यात्रामा भेटिएका जतिबाट केही न केही प्राप्त गर्दै आएँ, जसका निम्ति म सबैप्रति अनुगृहित छु।

तर, मेरो जीवनकालमा सबभन्दा बढी प्रभाव पार्ने व्यक्ति भने दुई जना रहे- काजी हंसमान र पण्डित जयदेव।

उनीहरूको प्रसंग सुरू गर्नुअघि म मेरो कलेज जीवनतिर जान्छु।  

करिब ८० वर्षअघिको कुरा हो। म त्रिचन्द्र कलेजमा बिए पढ्थेँ।

त्यो समयमै कलेजमा पढाउन बंगालबाट क्षितिशचन्द्र चक्रवर्तीलाई नेपाल ल्याइएको थियो। कोलकातादेखि आएका ती प्राध्यापक त्योबेला यहाँभरिमै सबभन्दा धेरै तलब खाने व्यक्तिका रूपमा चर्चित थिए। 

उनको आफ्नै तौरतरिका थियो। हरेक शनिबार बिहान सफा धोती पहिरिएर उनी एउटा हातले धोतीको टुप्पो समात्दै र अर्को हातले किताब च्याप्दै घरबाट निस्कन्थे। यसरी निस्केपछि उनको गन्तव्य पशुपतिनाथको मन्दिर हुन्थ्यो। त्यहाँ पुगेपछि देउताथानभित्र गएर ढोग्ने–पुजा गर्ने नभई मन्दिरको चक्कर लगाउँथे। एक परिक्रमापछि बासुकी मन्दिर पुगेर छेउको छेँडो हुँदै ढुंगाको गुफासम्म जान्थे।

मेरा सहपाठी नरकान्त अधिकारीको चक्रवर्तीसँग राम्रो सम्बन्ध थियो। आफ्ना प्राध्यापक के–के गर्दा रहेछन् भन्ने बारेमा हामीलाई जिज्ञासा पनि थियो। त्यसैले नरकान्तकै सल्लाहमा त्यो दिन हामी उनको पछिपछि पशुपति पुगेका थियौं। 

बासुकी मन्दिर छेउको त्यो ढुंगाको गुफामा पुगेपछि अचम्मको दृश्य देखियो। गुफामा एकजना बालब्रह्मचारी भनेर चिनिने दृष्टिविहिन वृद्ध बाबा बस्थे। बाबालाई उनका दुई-चार चेलाहरूले घेरेका हुन्थे। 

हाम्रा गुरुवर सरासर हिँड्दै तिनै बाबाको अघिल्तिर थामिए। उनले गोजीबाट एक रुपैयाँ दाम निकाले र 'बाबा' भन्दै ढोगे। त्यसपछि ती बाबाले अगाडि बसाएर केही सुनाए। त्यतिबेला ती बाबाले प्राध्यापक क्षितिशचन्द्र चक्रवर्तीलाई योगवाशिष्ठको प्रवचन सुनाएका रहेछन्।

क्षितिशचन्द्र विद्वान थिए। उनले २००७ सालपछि यहाँ 'अद्वैत विश्वविद्यालय' नै खडा गरे। राणाजीहरूसँग लिएको जग्गामा त्यसरी खडा गरेको विश्वविद्यालयबाट धेरै नेपालीलाई पढाए पनि। पुरानो बसपार्कनिर अद्वैत भवन बनाए। भारतमा चार ठाउँमा पीठ भएजस्तै यो विश्वविद्यालयको पनि चार ठाउँमा पीठ तयार पारेका थिए। 

उनको मुख्य उद्देश्य नै वेदान्तको प्रचार थियो। पशुपतिस्थित गुफामा बस्ने दृष्टिविहिन बाबाले सुनाएको योगवाशिष्ठको आधारमै क्षितिशचन्द्रले 'अद्वैत वेदान्त' तयार पारेका थिए। 

नेपालको प्राज्ञिक इतिहासमा क्षितिशचन्द्र आफैंमा एक महत्वपूर्ण पात्र हुन्।

म भने उनले सुनेको त्यो योगवाशिष्ठको कथालाई लिएर अत्यन्तै जिज्ञासु थिएँ। त्यस्तो मौका मेरो जीवनमा कहिले र कसरी आउँछ भन्ने थाहा थिएन।

यस्तै अवस्थामा मेरो जीवन अगाडि बढ्दै गयो। त्रिचन्द्रको पढाइ चल्दाचल्दै मैले सरदार भिमबहादुर पाँडेको नेतृत्वमा जागिरे जीवन सुरू गरेँ। त्यतिबेलै म खटिएका पहाडी जिल्लाहरूबाट संकलन गरेको लोकगीतका आधारमा पहिलो मदन पुरस्कार पाएँ। लगत्तै प्रथम जननिर्वाचित सरकारले २०१६ सालमा मलाई पुरातत्व तथा संस्कृति विभागको निर्देशक नियुक्त गर्‍यो। तर 'डाइरेक्टर' भएको दुई वर्ष पूरा नहुँदै राजनीतिक घटनाको चपेटामा मेरो जागिर खोसियो। 

राजा महेन्द्रले 'कू' गरेलगत्तै प्रधानमन्त्री बिपी कोइरालालाई लगेर थुने। संसद भंग भयो। पार्टीहरूमा प्रतिबन्ध लगाइयो। त्यस्तैमा म पनि कार्यभारबाट मुक्त भएपछि केही सीप नलाग्ने देखेर त्यत्तिकै बसेको थिएँ।

प्रकाशित मिति: : 2020-10-15 09:23:00

प्रतिकृया दिनुहोस्