बाबुरामको जवाफ : जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचारकाण्डको छानबिन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्न आग्रह गरेका छन् । गत बिहीबार गोरखामा दिएको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा प्रतिक्रिया दिँदै‌ भट्टराईले यस्तो बताएका हुन् ।

उनले सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गर्न र यसमा आफूले सहयोग गर्नुका साथै दोषी ठहरे दण्डित तयार भएको उल्लेख गर्दै जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन भनेका छन् ।

बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ! pic.twitter.com/WbWX664bzQ

— Baburam Bhattarai (@brb1954) October 14, 2020

भट्टराईले गत बिहीबार गोरखामा भएको एक सार्वजनिक कार्यक्रममा बूढीगण्डकी आयोजनाको नाममा ९ अर्ब रुपैयाँ बाँडीचुँडी खाएको आरोप लगाएका थिए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका साथै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आयोजनाको रकम लिएको प्रमाण आफूसँग भएको दाबी उनले गरेका थिए ।

नेकपा प्रवक्ता श्रेष्ठले बुधबार दिउँसो विज्ञप्तिमार्फत भट्टराईको अभिव्यक्तिको खण्डन गर्दै कुनै प्रमाण भए सार्वजनिक रूपमा राज्यको सम्बन्धित आधिकारिक निकायमा पेस गर्न चुनौती दिएका थिए । त्यस्तै २५ असोजमा कांग्रेसले पनि विज्ञप्तिमार्फत भट्टराईको अभिव्यक्तिको खण्डन गरेको थियो ।

प्रकाशित मिति: : 2020-10-14 20:43:00

प्रतिकृया दिनुहोस्