कर्णालीमा नेकपाकाे नयाँ सचेतक, बोलाइन् कात्तिक ७ गते संसदीय दलको बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली संसदीय दलकी मुख्य सचेतक सीता नेपालीले आगामी कात्तिक ७ गते संसदीय दलको बैठक बोलाएकी छिन्।

सोमबार संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्ना दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि छलफल गर्न उनले बैठक आह्वान गरेकी हुन्।

मुख्यमन्त्रीको कार्यशैलीका कारण सरकार र पार्टी दुबैको बदनाम भएको भन्दै पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना गरी कर्णाली प्रदेशका १८ जना सांसदले आइतबार संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। 

शाहलाई हटाएर नेपालीलाई नियुक्त

मुख्यमन्त्री शाहीले गुलाफजंग शाहलाई हटाएर नेकपा कर्णाली संसदीय दलकी मुख्य सचेतकमा सीता नेपालीलाई नियुक्त गरेका छन्।

पार्टी अध्यक्ष केपी ओलीनिकट मानिएका शाहले बोलाएको बैठकबाट आफू हट्ने देखिएपछि मुख्यमन्त्री शाहीले त्यसअघिनै उनलाई निलम्बन गरेर नेपालीलाई नियुक्त गरेका हुन्।

यद्यपी प्रमुख सचेतकको रूपमा रही सन्तोषजनक कामकारबाही नगरेकोले उनलाई हटाइएको शाहीले जानकारी गराएका छन्।

‘प्रदेश सभा दलको विधान ७ बमोजिम प्रदेश सभा प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले जिम्मेवारबाट मुक्त गरिएको छ,’  संसदीय दलका नेता शाहीले लेखेको पत्रमा भनिएको छ।

यसअघि त्यसलगत्तै संसदीय दलका प्रमुख सचेतक शाहले मगंलबारका लागि संसदीय दलको बैठक बोलाएका थिए।

अविश्वासको प्रस्ताव दर्ता गरेको केही घण्टापछि उनले संसदीय दलको बैठकसमेत आह्वान गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता गर्न नेतृत्व गरेका ओली पक्षका नेता तथा मुख्यमन्त्रीका आकांक्षी यामलाल कँडेलको पक्षमै रहने शाहले छिट्टै बैठक बोलाएपछि मुख्यमन्त्रीले उनलाई पदमुक्त गरेको बुझिएको छ।

शाहले अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि आइतबारदेखिनै मुख्यमन्त्री शाहीका कामकारवाही र निर्णयहरु अवैधानिक हुने बताएका थिए। 

उनले आफूले तय गरेको बैठक पूर्वनिर्धारित समय मगंलबारनै हुने बताएका बेला नेपालीले आगामी कार्तिक ७ गते बैठक बोलाएकी छन्।

प्रकाशित मिति: : 2020-10-12 17:50:00

प्रतिकृया दिनुहोस्