सरकारले डा केसीको जीवन रक्षामा ध्यान दिनुपर्छः नारायणकाजी श्रेष्ठ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डा गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताएका छन्।

 सरकार, डा केसी स्वयम् र अरू सबैले केसीको जीवन रक्षा गर्नुपर्ने श्रेष्ठको भनाइ छ।

सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा केसीको तर्फबाट डा जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ। उक्त टाेलिले केहीबेर अगिबाट वार्ता सुरु गरेकाे छ।

‘डा केसीसँग कयौं विषयमा असहमति हुन सक्ला र छन् पनि,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनसनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर के कुरामा शँका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ।’

डा केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको पनि उनले उल्लेख गरेका छन्।

‘उहाँको जीवन महत्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उनको जीवन रक्षामा ध्यान दिनु पर्दछ। यस सन्दर्भमा सरकारले हिजो डाक्टर केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ। समाधान हुनेछ।’

प्रकाशित मिति: : 2020-10-08 14:34:43

प्रतिकृया दिनुहोस्