देशभरका शक्तिपीठ कात्तिक १ देखि खुला गर्ने तयारी : संस्कृतिमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताए।

ओलाङचुङगोलास्थित बोर्डर आउट पोस्ट (बीओपी)को उद्घाटनकाक्रममा बुधबार ताप्लेजुङ आएका मन्त्री भट्टराईले लामो समयदेखि बन्द रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई क्रमशः खोल्दै लैजाने तयारी भएको बताए।

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकदेखि खोल्ने बताए।

चाडबाड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएकाले स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने उनले स्पष्ट पारे।

यसअघि, मन्त्री भट्टराईले ओलाङचुङगोलास्थित बीओपीको उद्घाटन गर्दै सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती घट्दै जाने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2020-10-08 09:15:26

प्रतिकृया दिनुहोस्