द्रुतमार्गमा अपेक्षाकृत काम हुन नसकेको सेनाको स्वीकारोक्ति

तराई द्रुतमार्ग आयोजना निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई जिम्मा दिएको तीन वर्ष भयो। सरकारले त्यतिबेला चार वर्षभित्र सम्पन्न गर्ने गरी जिम्मा लगाए पनि अहिलेसम्ममा ११ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । लक्ष्य अनुसार काम नभएपछि सरकारले आयोजनाको म्याद तीन वर्ष थपेको छ । संसदीय समितिले म्याद थप्नुको कारण मागेको छ ।

चार वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकारले २०७४ वैशाख २१ मा द्रुतमार्ग आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरी साउनमा हस्तान्तरण गरेको थियो । थियो । तर आयोजनाको काममा खासै प्रगति भएको छैन । उसले आयोजनाको विस्तृत प्रतिवेदन अर्थात डीपीआर बनाउनै धेरै समय लगायो । यस्तै निर्माण क्षेत्रमा पर्ने ललितपुरको खोकनामा जग्गा विवाद छ । परामर्शदाता छनोटदेखि अन्य विवादका कारण अपेक्षाकृत काम हुन नसकेको सेनाले स्वीकार गरेको छ । सेनाले मंगलबार संसदको विकास समितिमा अहिलेसम्म ११ प्रतिशत भौतिक र साढे ९ प्रतिशत वित्तिय प्रगति भएको विवरण पेश गरेको छ । 

सेनाले जग्गा विवादले काममा कठिनाइ परेको जानकारी रक्षाम मन्त्रालयलाई यस अगाडि नै गराइसकेको छ । यस्तै परामर्शदाता छनोटमा मन्त्रालयले अनावश्यक चासो राखेकोप्रति प्रधान सेनापतिले यसअघि मन्त्री ईश्वर पोखरेलसामु असन्तुष्टि जनाइसकेका छन् । सरकारले काम अगाडि बढाउन सहजीकरण गर्ने भन्दा आयोजनाको म्याद तीन वर्ष थपिदिएको छ । जसका कारण समितिले मंगलबार रक्षा मन्त्रालय र सेनाका अधिकारीलाई बोलाएको हो । एकैपटक तीन वर्ष म्याद थपेर आयोजनाको लागत बढाउन भूमिका खेलेको भन्दै समितिका सदस्यले सरकारको आलोचना गरे । 

सदस्यहरुले आलोचना गरेपछि समितिले सरकारसँग म्याद थपको कारण मागेको छ । उसले कारण र आधार खुलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिएको छ ।

७२ दशमलव ५ किलोमिटर द्रुतमार्ग बनाउन  तीन वर्ष पहिले ९२ अर्ब रुपैयाँ लागत अनुमान गरिएकामा लक्ष्य अनुसार काम नभएकाले लागत बढिसकेको छ । अहिलेको अनुमान अनुसार यो आयोजनामा १ खर्ब ७५ अर्ब रुपैयाँ खर्च हुनेछ । द्रुतमार्ग अन्तर्गत सुरुङ मार्गदेखि ६ दर्जनभन्दा बढी पुल पनि बनाउनुपर्छ । तर ती काम अगाडि नबढेकाले थपिएको तीन वर्षभित्र पनि काम हुन्छ भनेर विश्वास गर्ने आधार छैन ।

प्रकाशित मिति: : 2020-10-07 11:34:46

प्रतिकृया दिनुहोस्